अभिनेत्री शुभेक्षा खड्का अभिनित फिल्म चित्रा यही पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मले बाबु छोरीको सम्बन्धको कथा भन्नेछ । 'मिस नेपाल-२०१२'की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ अनुसार बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सकिन्छ भन्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ । आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ -
अभिनेत्री शुभेक्षा खड्काले 'चित्रा'मा अभिनय गरेको पात्र कस्तो हो?
यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा 'मसला'को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्वीस्ट लेराउने पात्रका रुपमा फिल्ममा मलाई पाउन सकिन्छ ।
यसरी ट्वीस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो ?
मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा 'चित्रा'मा चाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं । अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु ।
फिल्महरुमा तपाईं कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?
यस्तो खालको भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस् ।
'चित्रा'बाट तपाईंको अपेक्षा के हो?
हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं । अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा 'चित्रा'चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ । मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो । यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ ।
बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ?
बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ । आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरुचाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ । तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदाचाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।
तपाईंको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ?
एकदमै सहयोगी । उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ ।
नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ । यो कुराचाँहि तपाईंलाई कस्तो लाग्छ ?
हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ ।
भोलिका दिनमा तपाईं आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ?
सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु । अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु ।