भारतीय अभिनेता ह्यारी जोशले नेपाली फिल्म ‘देव वाणी’मा अभिनय गर्ने भएका छन् । फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो ।
बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भैरहेको निर्देशक बाबु साहेव बलामीले जानकारी दिए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायांकन हुनेछ । फिल्ममा ह्यारीको विशेष भूमिका रहेको बलामीले बताए । फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ । फिल्मलाई नेपालसँगै भारतमा हलमा रिलिज गर्ने योजना छ ।
मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा महेन्द्र यादव र अपार गुरुङ छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन छ ।
एक्सन लभस्टोरी कथामा बनेको फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, अनुजा लेप्चा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ ।