छायाङ्कनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो ।
वितरण अधिकार बिक्री सँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआइपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले बताए । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति रहने सुवेदीले बताए ।
यसअघि नै यस चलचित्रको जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ । साथै, अस्ट्रेलियामा पनि ुरङ्गेलीु बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ ।
आगामी मार्च ८ तारिखमा यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुने पक्का भइसकेको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।
यस चलचित्रका गीतहरूमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह निर्माता हुन् । विवेक खड्का एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।