महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र अन्जिला को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै छिन् । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।
निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा(दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ुइन्स्पायरु गर्छ भन्ने लागेर चलचित्र बनाउन लागेको बताए ।
यस चलचित्रमा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने यसका सम्पादक मिलन श्रेष्ठ हुन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बागादिया सह(निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।