अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘राजागञ्ज’ले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६० अमेरिकी डलर) फन्ड जितेको छ ।
चर्चित अमेरिकी म्यागेजिन भेराइटीले ‘राजागञ्ज’ उक्त फन्ड जित्ने नौं फिल्ममध्ये एक रहेको उल्लेख गरेको छ । यो फिल्मको अघिल्लो महिना मात्र जनकपुर क्षेत्रमा छायांकन सकिएको थियो ।
आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन निर्माता रहेको फिल्मको निर्माणमा बाँसुरी फिल्म्स प्रोडक्सन, आदि फिल्म्स र नर्वेको तनहाउज गेटले सहकार्य गरेका छन् ।
जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको फिल्ममा दीपक रौनियार, डेभिड बार्कर र आशा मगरातीको लेखन रहेको छ ।
दीपक रौनियारको निर्देशन रहेको फिल्ममा दयाहाङको साथमा निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल, पुष्प यादव लगायतको अभिनय छ ।