आगामी कार्तिक ४ अर्थात फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ स् भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा सिनेमाको होडिङ्ग बोर्ड राख्ने काम भैरहेको छ ।
निर्माण टिमले काठमाडौं महानगरपालिका भएर चल्ने करिब १ सयबढि सार्वजनिक यातायतमा पोस्टर राखेर चलचित्रको प्रचार गर्ने भएको हो । चलचित्रको निर्माण टिमले काठमाडौंमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा सिनेमाको प्रचार सामाग्रीले रङ्गिएका छन् । सिनेमाको पोस्टर काठमाडौंमा टाँस्न नपाइने भएकाले विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको सिनेमाका निर्देशक दीपेन्द्र के खनालले बताए ।
सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको अनुभव सुनाए । खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास हामीले लिएका छौं निर्माता तथा लेखक खगेन्द्र लामिछानेले बताए । अबको केहीदिनमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै व्यापक प्रचार प्रसारको तयारीमा रहेको जानकारी उनले दिए ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
चलचित्रमा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।