‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को बुधबार नयाँ सिजनको प्रिमियर गरिएको छ । प्रिमियरपछि यो रियालिटी शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।
ब्लाइन्ड अडिसनको पहिलो एपिसोडलाई प्रिमियरमा प्रदर्शन गरिएको थियो । धरानका रिजेन लोहनीको दमदार रक प्रस्तुतिसँगै सुरु भएको एपिसोडमा अन्य ट्यालेन्टले पनि दर्शकलाई मन्त्रमुग्ध तुल्याए । नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका थिए ।
आइएनआइको बानेश्वर हलमा आयोजित प्रिमियरमा शोसँग सम्बन्धित सेलिव्रिटीको उपस्थिती रह्यो । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषालदेखि कोचहरु उदय सोताङ र प्रमोद खरेल, अभिनेता निर्मल शर्मा, होस्ट सुशिल नेपाल, निर्देशक लक्ष्मण पौडेलसहित प्रिमियरमा सहभागि रहेका थिए ।
ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् जसको छायांकन सम्पन्न भैसकेको छ । निर्देशक पौडेलले ब्लाइण्ड अडिसनमा पुगेका प्रतिभालाई अदभूत भएको प्रतिक्रिया दिए । त्यसपछि ब्याटल र नकआउट राउण्डहरु प्रस्तुत हुनेछन् । प्रिमियरमा शोका प्रायोेजकदेखि संचारकर्मीको उपस्थिती थियो ।
निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए । साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन् । द भ्वाइस अफ नेपालको सिजन ५ आगामी शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ ।
पाँचौ सिजनमा राजेशपायल राई, उदय सोताङ, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन् ।