नारायण रायमाझी निर्देशित असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।
सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा आपत्ति जनाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।
‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरू चल्छ भनेर शुभकामना दिनुभयो ।’
चलचित्रको तर्फबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा सिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।
रमेश बिजीले लेखेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।