अन्तरे !
‘बाँसको जरा जस्तो जर्खटिएको छ समाज, म यसलाई बदल्छु’ भन्थ्यौ !
‘यहाँको बिसङ्गतिलाई मास जस्तै केलाउन लागि पर्छ’ भन्थ्यौ
लागि पर्यौ
ठुलै क्रान्ति गर्यौ ।
गर्न चैँ के के गर्यौ ?
कहाँ कहाँ मिलायौ ?
तिमिलाई लाग्यो होला
कायापलट गरेँ
अचम्मै गरेँ
उथलपुथल गरेँ
मैले सबैको सपना पूरा गरे ।
अनि
निदायौ होला दुई ग्लास पिएर मजाले एक रात
गर्बले पिट्यौ होला छाती ।
अन्तरे !
बुज्नुपर्ने थियो तिमिले
सोच्नुपर्ने थियोे तिमिले
परिवर्तनको ढाँचा ।
तिम्रो एकाङ्गी नजरमा सोझो निमुखा
साथी परेन ।
तिम्रो गरिब छिमेकी परेन ।
बरु दलाल जन्मायौ
वाह वाही कमायौ
ठेकेदार जन्मायौ
स्वाबासी कमायौ
कमिसन पचायौ
आफ्नै बडेमानको फोटो
भित्तामा सजायौ ।
अन्तरे !
जन्ती कमायौ
तर मलामी गुमायौ
तिमीबाट खुशी भए होलान
नेता, भ्रस्ट र कुलङ्गारहरू
धनाड्य, शामन्त र ठगहरू
जसको ओठ र गोठ दुबैमा हाँसो छ ।
तर, दुखी भए तिमीबाट
दुखिया गरिब जन, बिधवा, भरिया, र टुहुराहरू
निरिह, अबोध, अबलाहरू…
जसको भाका र आँखा दुबैमा आँसु छ
जसको सपना बिपनामा बर्खा छ ।
अन्तरे !
भो अब हात झिक
भो अब कसम नखाउ
भो अब मुख कुल्ला गर
तिम्रो नियत उदाङ्गो भईसक्यो
तिमीलाई दुनियाँले चिनिसक्यो
तिम्रो चलखेल साराले बुझिसक्यो ।
अन्तरे !
तिम्रो आदर्श,
तिम्रो मान्यता
तिम्रो परिकल्पना
हुने खानेहरूका लागि सहि छ
हुँदा खानेहरूका निम्ति बेकार छ ।
अन्तरे !
अब कुरा बुझ
अब घरतिर कुद
चुपचाप सुत
जुरुक्क उठ
आकाशतिर हेरेर एकचोटि थुक
अनि आफ्नै फोटो माथि अन्तिमचोटी मुत ।
रानाहँछा चाम्लिङ कवि (कविराज)
निर्मली डाडा-८