भाद्र शुक्ल तृतिया तिथिमा महिलाहरुले मनाउने विशेष वर्ष हो तीज जसलाई हरितालिका वा हरितालिका तीज भन्ने गरिन्छ । हिन्दुधर्मको सबै भन्दा अनुशासित र कठोर व्रतको रुपमा तीजलाई लिने गरिन्छ । यस दिन विवाहित महिलाहरुले आफ्नो श्रीमान्को आयु र आफ्नो सौभाग्य रहिरहोस् भनि २४ घण्टा सम्म अन्न र जल ग्रहण नगरी ब्रत बस्ने गर्दछन् ।
हरितालिका तीज
लिंगपुराणका अनुसार माता पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउनको लागि नदीको किनारामा बसी अन्न, जल, निन्द्राको त्याग गरी कठोर तपस्या गरेकी थिइन् र सो समय उनले हावा र सुकेको पत्ता मात्र खाएकी थिईन् भन्ने उल्लेख गरिएको छ । माता पार्वतीले शिवलाई पतिको रुपमा पाउनको लागि १०८ पटक जन्म लिएकी थिइन् र यी १०८ पटकै जन्ममा उनले तीजको ब्रत बसेकी लिंगपुराणमा उल्लेख गरिएको छ । लिंगपुराणमा उल्लेख भए अनुरुप माता पार्वतीको कठोर तपस्याबाट प्रशन्न भएका शिवले पार्वतीलाई आफ्नी पत्नीको रुपमा स्वीकार गरेकोले माता पार्वतीले तीजको ब्रत बस्ने महिलाहरुदेखि खुशी भई उनीहरुलाई अखण्ड सौभाग्यवतिको आशीर्वाद दिन्छिन् भन्ने विश्वास पनि गरिन्छ । तीजको ब्रत भन्ने बित्तिक्कै आम महिलाहरुमा विवाहित महिलाहरुको विशेष पर्व हो भन्ने भनाई पनि छ तर यस पर्वमा विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवन या आफ्नो अखण्ड सौभाग्यवतिको कामना सहित ब्रत बस्छन् भने कन्या केटीहरुले योग्य दुलाह प्राप्त होस् भन्ने कामनाले पनि यो ब्रत राख्ने गर्दछन् ।
यस ब्रतलाई हरेक वर्ष निष्ठा एवं श्रद्धापुर्वक गरेमा माता पार्वती जस्तै सुखपुर्वक जीवन यापन गरी अन्ततः शिवलोकमा वास हुन्छ भन्ने मान्यता पनि रहेको छ । हरित र तालिका हुँदै दुई शब्दलाई मिलाएर हरितालिका बनाएको हो ।
हरित अर्थ हरण र तालिकाको अर्थ साथी हो जव पार्वतीको पिताले पार्वतीको विवाह भगवान विष्णसँग गरिदिने निर्णय गरे पश्चात् महादेव पति प्राप्तिको लागि कामना गरिरहेकी पार्वती अत्यन्तै दुखी बनिन् । पार्वतीको दुख देखेर वा पार्वतीको चाहत महादेव हो भन्ने बुझेकी उनकी वालसखा विजयदवीले पार्वतीलाई हरण गरी बनमा लिएर गएकी थिइन् । यसै समयदेखि माता पार्वतीले यस कठिन ब्रतको प्रारम्भ गरेकी थिइन् भने साथी विजयदेवीले पार्वतीलाई हरण गरेर लगेको हुनाले यस ब्रतको नाम हरितालिका रहेको बताइन्छ ।
यस ब्रतलाई विधिपूर्वक गर्न नसकेमा दण्ड पनि मिल्ने लिंगपुराणमा लेखिएको छ । जसमा लेखिएको छ ब्रत बसेको बेलामा दुध पिएमा विरालो, पानी पिएमा कोइली र सुतेमा अजिंगरको जन्म लिनुपर्ने छ ब्रत बसेको बेलमा मिठो खानेकुरा आएमा कमिला र अरुको कुरा काटेमा कुकुरको जन्म लिनुपर्ने बताइएको छ । यदि यस कठोर ब्रतलाई विधिपूर्वक बस्न सकेमा माता पार्वती प्रसन्न भई ब्रतालुले मनले चाहेको कुराहरु पुरा गरिदिन्छन् ।
हरितालिका पुजाको लागि गिलो कालोमाटो, बेलपत्र, समिपत्र, केराको पात, धतुरोको दाना, मन्जरी, जनै बस्त्र एवं विभिन्न प्रकारका फलफुलहरुको पुजा सामग्री लाग्दछ भने माता पार्वतीलाई चढाउनको लागि सबै प्रकारका सौभाग्यका सामग्रीहरु पनि आवश्यकता पर्दछ । जसमा मेहेन्दी, चुरा, गाजल, गंगाजल, विछिया, टिका, चन्दन, कुमकुम, सिन्दुर, काइयो आदि सामाग्रीहरु पर्दछन् ।
पुजाको लागि विषेशतः श्रीफल, कलश, अविर, चन्दन, ध्यु, तेल, कपुर, कुमकुम, दिप आदि सामाग्रीहरु चाहिन्छ भने पुजाकै लागि पञ्चामृतको पनि आवश्यकता पर्दछ । तीजको दिन विशेष गरेर महिलाहरु सोह्र श्रृङ्गारमा सजिएर रातो साडी लगाएर निर्जल ब्रत बस्ने गर्दछन् । यस दिन घरको सफाई गरी एक छेउमा गिलोमाटो ल्याएर भगवान शिव र माता पार्वतीको प्रतिमा बनाई यस प्रतिमालाई गंगाजल चढाई पुजा सामाग्रीद्धारा विधिवत रुपमा महादेव पार्वतीको पुजा गर्नुपर्दछ ।
उमामहेश्वर सायुज्य सिद्धय
हरितालिका ब्रतमहं करिष्य
यस मन्त्रको उच्चारण गरी पुजा गरिनुलाई असाध्यै शुभ मानिन्छ पुजाको क्रममा माता पार्वतीलाई रातो वस्त्र (साडी, चोली, घुम्टो) र महादेवलाई धोती गम्छा चढाइने गरिन्छ । हरितालिकाको पुजा प्रदोषकाल एवं सन्ध्याकालमा गरिने गरिन्छ । यो ब्रत रातभर जाग्राम बस्नुपर्ने समेत लिंगपुराणमा बताइन्छ ।
सन्ध्याकालिन समयमा गणेशको पुजापश्चात् माता पार्वती र शिवको पुजा गरिन्छ पुजाको क्रममा शिवलाई परिक्रमा गर्नुपर्ने हुन्छ भने रात्री जाग्रामको क्रममा हरेक घण्टामा माता पार्वती र महादेवको पुजा गर्नुपर्ने हुन्छ रात्री जाग्राम पछि विहानको पुजा सुरु हुन्छ जसमा प्रभातकालिन समय एवं विहान ४ बजे माता पार्वतीलाई सिन्दुर चढाई हलुवा र काँक्रोको भोग लगाउनुपर्दछ । यसरी पुजाको सम्पूर्ण कार्य समापन गरिसकेपछि ब्रतालुहरुले हलुवाई र काँक्रो खाएर कठोर ब्रत पूर्ण गर्दछन् ।