अर्पण गिरीद्वारा निर्देशित फिल्म ‘वानर सेना’को प्रदर्शन मिति एक हप्ता अगाडि सरेको छ । आगामी असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अब फिल्म असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘परदेशी २’ कात्तिक ३ गतेबाट पोस्टपोन्ड भएर असोज २६ मा आएपछि ‘वानर सेना’का निर्माताले आफ्नो फिल्मलाई अन्याय भएको भन्दै चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका थिए ।
बिहीबार निर्माता संघको न्यायिक समितिले दुवै फिल्मका निर्मातालाई बोलाएर छलफल गरेको थियो । न्यायिक समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, फिल्म वितरक करण श्रेष्ठ, ‘वानर सेना’का निर्माता युवराज गिरी र ‘परदेशी २’का निर्माता राजेश वंशल सहभागी रहेको छलफलमा एक हप्ताको अन्तरमा दुई फिल्म रिलिज गर्ने सहमति जुटेको हो ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुति रहेको ‘वानर सेना’मा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा आदिको अभिनय छ । त्यस्तै, विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाको अभिनय रहेको छ ।
यो फिल्ममा विनोद सापकोटाको छायांकन, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन, प्रविन ढकालको कलर तथा रवि केसीको मेकअप छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक गिरी स्वयंको हो ।