अभिनेता तथा निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सञ्चालक रहेको मल्टिप्लेक्स फिल्म हल आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने भएको छ । नयाँ बानेश्वर चोकस्थित शंखमुल जाने बाटोतिर एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको फ्रेन्चाइजीको रुपमा सञ्चालनमा आउन लागेको हो ।
आज बिहान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । त्यसपछि नियमित शो अन्तर्गत एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन थालिएको छ ।
दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीको स्वामित्व रहेको यो हलको सबै व्यस्थापन आईएनआईले हेर्नेछ । यो हलसँगै आईएनआईको हल संख्या तीन पुगेको छ । गोंगबुको ल्होत्से मल, बुटवलको मिलनचोकमा यसअघि नै दुई फ्रेन्चाइजी हल सञ्चालनमा छन् ।
हलको उद्घाटन कार्यक्रममा दीपकराजले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा गरे । ‘हामीले वर्षौंदेखि भन्दै आएको कुरा के हो भने निर्माता र प्रदर्शकले फिल्मबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्छ । शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएको छ । यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने घोषणा गर्दछु,’ उनले भने ।
‘हामी निर्माता पनि भएकाले विदेशीभन्दा नेपाली फिल्मलाई नै शो विभाजनमा प्राथमिकता दिनेछौं,’ हल सञ्चालनको दौडधुपमा रहेका दीपकले भने, ‘यदि म प्रदर्शकको रुपमा सफल रहें भने भोलि देशव्यापी रुपमा फ्रेन्चाइजी विस्तार पनि हुनेछ ।’