भेनिस फिल्म फेस्टिभलको होरोजान्टे विधामा छानिएको नेपाली फिल्म ‘द रेड सुटकेस’लाई प्रतिष्ठित रेडकार्पेट प्रिमियर गरिएको छ । यो फिल्मलाई १३ सय क्षमताको साला डेरसेना हलमा स्क्रिनिङ गरिएको थियो ।
प्रिमियरमा निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल र शोभा थापा, कलाकारहरु सौगात मल्ल, बिपिन कार्की र सृष्टि श्रेष्ठ सहभागि रहे । डेढ घन्टा हाराहारीको फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए ।
मन पराएको फिल्मलाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा फेस्टिभलमा रही आएको छ । भेनिसमै यो साल ‘पुअर थिंक्स’का लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।
फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक बन्यो । प्रदर्शनपछि दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्मभित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखे ।
नेपालले प्रायः युरापोली निर्मातासँग सहकार्य गरेर फिल्म बनाउने गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो फिल्मका सम्पादक पनि श्रीलंकाली नै हुन् ।
चलचित्रले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ । ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । फिल्ममा मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।