अभिनेत्री सुहाना थापाले‘समय छिनछिनमा परिवर्तन भइरहेको हुन्छ । अब फिल्ममा हाम्रो कथा भन्नु जरुरी छ’ भन्ने कुरा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बताएकी छिन् ।
‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी झरनाले यसको तीन सिक्वेल हिट दिइसकेकी छन् । अहिलेको फिल्म पनि हिट दिनुपर्छ भन्ने प्रेसर त छ उनलाई । तर पहिले जस्तो उनमा फिल्म हिट बनाउनुपर्छ र मनोरञ्जन दिनुपर्छ भन्ने सोच छैन । उनी अहिले फिल्मले समाज परिवर्तन हुनुपर्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्नुपर्छ भन्ने सोच राख्छिन् ।
झरनाले यो पटकको फिल्म आफ्नो लागि विशेष भएको सुनाइन् । ‘फिल्म फरक कथामा फरक तरिकाले भनिएको छ । फिल्मले कर्मसियल भ्यालु त बोक्छ । अनावश्यक दृश्य र कमेडी छैन’ उनले भनिन् ।
अभिनेत्री सुहाना थापाले फिल्मबाट नेपालको अर्को समाज बुझ्ने मौका पाइएको बताइन् । ‘एक भगवत् गीता’ फिल्म जनकपुरको ट्रान्सजेन्डरको कथामा निर्माण भएको हो । त्यसका लागि उनले जनकपुरमा महिनौँ बसेर मैथिली सिकेकी छन् । स्कुल होस् वा कलेज अध्ययनको समय नेपाली र अंग्रेजी भाषा मात्र अध्यापन गरेकी उनले मैथिली भाषा सिक्दा हाम्रो भाषा र संस्कृतिबारे सिक्न जरुरी रहेको अनुभव भएको सुनाइन् ।
फिल्मको कथा पनि सुहानाले लेखेकी हुन् । आफूसँग परिचित एक पात्रको कथामा संस्कृतिलाई समेटेर फिल्म ‘एक भगवत् गीता’ बनेको उनले बताइन् । उनले भनिन्, ‘समय छिनछिनमा परिवर्तन भइरहेको हुन्छ । अब फिल्ममा हाम्रो कथा भन्नु जरुरी छ ।’ मनोरञ्जनका लागि विदेशका विभिन्न फिल्मबाट हामीले धेरै कुरो सिकेको बताएकी सुहानाले हामीले हाम्रो कल्चरलाई फिल्म मार्फत विश्वमा प्रस्तुत गर्दै सिकाउनु पर्ने धारणा पनि राखेकी छन् ।
कार्यक्रममा अभिनेता विपिन कार्कीले फिल्ममा ट्रान्सजेन्डर अभिनय अनुभव शेयर गरे । उनले पहिलो पटक ट्रान्सजेन्डर कमलामाईको चरित्र निर्वाह गर्न पाएकोमा आफू निकै खुसी रहेको सुनाए । फिल्ममा रहेको आफ्नो भूमिकाले टिजर, ट्रेलरदेखि पोस्टरसम्म चर्चा पाएकोले प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाउने उनको विश्वास छ ।
कार्यक्रममा निर्माता सुनिल कुमार थापाले फिल्मको कथा र निर्माणको हिसाबले आफू निकै सन्तुष्ट रहेको बताए । तीन करोड माथिको आफ्नो लगानी फिल्ममा रहेको बताएका थापाले फिल्मको पछिल्लो चर्चाले लगानीको चिन्ता हराएको सुनाए ।
फिल्म ‘एक भगवत् गीता’ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विपिन र सुहानको अलावा धिरज मगर, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ ।