हाँस्य कलाकार जीतु नेपाल यस वर्षको गाईजात्रामा केही कार्यक्रम गर्ने तयारीमा छन् । उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवै मार्फत गाईजात्रा प्रस्तुति दिनेछन् ।
स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’ मार्फत देशको विभिन्न स्थानमा पुग्दैछन्, भने डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नामक कार्यक्रम समेत ल्याउँदै छन् ।
‘रुस्लान कमेडी यात्रा’ भदौ १४ पछि सुरु हुनेछ । ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ भने भदौ ७ अर्थात भोलि बिहीबारदेखि २० भदौसम्म आफ्नो युट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रम ल्याउनेछन् ।
‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ उनको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा (नक्कल हिसिला), एलिना बास्कोटालगायतका कलाकारको समेत प्रहसन रहनेछ ।
‘यस वर्ष काठमाडौँको प्रज्ञा प्रतिष्ठानमै कार्यक्रम गर्न मन लागेको थियो’, जीतुले भने ‘स्पोन्सर जुटाउन गाह्रो छ । प्रतिष्ठानको खर्च धेरै आउँछ ।’ उनले यो बर्ष युट्युबमा ल्याएको आफ्नो गाईजात्राको चर्चा र सफल खण्डमा अर्को वर्ष स्टेजमै सप्ताहव्यापी गाईजात्रे कार्यक्रम उनको सोच रहेको सुनाए ।