सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘अगस्त्य भाग-१’ को अन्तर्राष्ट्रिय रिलिज महंगो मूल्यमा विक्रि भएको छ ।
उक्त फिल्मको निर्माण संस्थाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार डार्क हर्स इन्टरटेन्मेन्ट तथा सेभेन सिज प्रालिबीच ‘अगस्त्यः भाग–१’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो ।
सम्झौता अनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देशहरु, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा करिव ५०० शो र मध्यपूर्वका विभिन्न देशहरुका हलमा ७५० शो प्रदर्शन हुने छ ।
‘फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिँदै गर्दा नै यस किसिमको सम्झौता हुनुले हामीलाई उत्साहित बनाएको छ, विज्ञप्तीमा भनिएको– ‘साथै सेभेन सिजसंगको यो सम्झौता ‘अगस्त्य भाग–१’ का लागि मात्रै नभएर सिंगो नेपाली चलचित्र उद्योगकै लागि सकरात्मक पाटो हो भन्ने हाम्रो विश्वास रहेको छ ।’
‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायांकन भारतको उत्तर प्रदेशका विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन नेपालको पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि प्रारम्भ हुँदैछ ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायत अन्य नेपाली कलाकारहरुका केही बलिउड कलाकारहरुको पनि अभिनय रहेको छ ।
यस चलचित्रका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन रहेका छन् ।