नेपाली चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागिताको लागि बेलायतका प्रधानमन्त्री ऋषी सुनाकलाई निम्तो दिईएको छ । फिल्मको प्रिमियर प्रचारप्रसारका लागि बेलायत पुगेका निर्माता तथा निर्देशक मिलन चाम्सले बेलायतको संसद भवनमा पुगेर संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर विशेष अतिथिको रुपमा निमन्त्रणा गर्दै प्रधानमन्त्री सुनकलाई निम्तो पठाएका हुन् ।
सो अवसरमा निर्देशक चाम्ससहित निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापा उपस्थित थिए ।
भेटका क्रममा कोलिन्सलाई सो फिल्मको बारेमा जानकारी गराउँदै आफुहरुले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए । आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा यो ‘गोर्खा वारियर’को रेड कार्पेट प्रिमियर हुँदैछ ।
‘आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उहाँले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिनु भएको छ । साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ’, निर्देशक चाम्सले भने ।
उनले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर प्रिमियरको लागि निमन्त्रण गरिसकेको जानकारी दिए । निर्देशक चाम्सका अनुसार प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् ।
फिल्ममा नव अभिनेता रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रिअर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘गोर्खा वारियर’मा निर्देशक चाम्स, सुस्मिता वाइवा, सुमन राईले संयुक्त रुपमा लगानी गरेकाछन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह-निर्मातामा सुरेश राई रहेका छन् ।