११औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ मा नेपाली प्रतिस्पर्धामा दिनेश राउतको चलचित्र ‘प्रकाश’ उत्कृष्ट भएको छ । ‘प्रकाश’बाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्टको अवार्ड, ‘प्रकाश’ चलचित्रकै ‘मान्छे मान्छे’ गीतबाट एलिस कार्कीले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।
असार २३ बाट सोमबारसम्म काठमाडौंको नाचघरमा प्रदर्शन भएका चलचित्रबाट विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रेमगञ्जबाट तेज गिरीले र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र भाग्यबाट अभिनेत्री नीता ढुंगानाले जितिन् । गीति चलचित्र भाग्यले जुरी अवार्ड पायो भने भाग्यबाटै रोशन कुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड, भाग्यबाटै अभिनेता यसराज (सुरज) गराचले अभिनेतातर्फको जुरी अवार्ड र सुनिल कटुवालले सह अभिनेताको अवार्ड जिते । सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र परिवारबाट बसुन्धरा भुसालले हासिल गरिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा अग्रज संगीतकार शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा बेस्ट सिनेमाटोग्राफरको अवार्ड फिल्म हुक्काबाट कृष्णबहादुर थापा, बेष्ट एडिटरको अवार्ड फिल्म परिवर्तन (द चेन्ज)बाट वीरन्द्र भाट विपिनले हासिल गरे ।
यस्तै बेष्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित फिल्म दुविधाले र बेस्ट डक्युमेन्ट्रीको अवार्ड रोशनी केसी निर्देशित बृत्तचित्र डेडिकेसन (समर्पण)ले र बेष्ट स्टुडेन्ट फिल्मको अवार्ड नेपाल फिल्म क्याम्पसका सामल कुमार बज्राचार्यले फिल्म ‘हावाम्यान’बाट जिते । राष्ट्रियतर्फको निर्णायकमा अग्रज चलचित्र निर्देशक सत्यराज चौलागाईं, गायकद्वय नमराज ढुंगाना, नारायण थापा, अग्रज एरेन्जर अमोस तामाङ र ध्वानी सम्पादक मनोज परियार थिए ।
अन्तराष्ट्रियतर्फ घानाको सर्ट फिल्म ‘या’बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् । बेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्बावेको डक्युमेन्ट्री ‘कलिङ द डेड’ले हासिल गर्दा केन्या र जर्मनीको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ले बेष्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड हासिल गर्यो । लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ले सार्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड चुम्यो । अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, कान्तिपुरका कपी एडिटर पारस प्रकाश नेपाल, गायिका तथा संगीतविज्ञ झुमा लिम्बु र अभिनेता/गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा अन्तराष्ट्रिय अफ्रिकन फिल्मको निर्णायकमा थिए । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर निशु कान्त झा, अन्तर्राष्ट्रिय मेकअप आर्टिष्ट सुष्मा पौडेल (गीता) र संगीतकार सरोज कोइराला सम्मानित भए ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकास बोर्ड र लिक्षण क्रियसन प्रा.लि.को सहआयोजनामा सम्पन्न उक्त समारोहमा अन्तर्राष्ट्रियतर्फ दश वटा अफ्रिकन फिल्म र राष्ट्रिय तर्फ नेपालका १२ वटा गरी कुल २२ वटा फिल्म प्रदर्शन गरियो ।
महोत्सवमा वीरेन्द्र हमालले माईम एक्टसम्बन्धी एकदिवसीय अभिनय प्रशिक्षण विभिन्न १८ जनालाई दिए । यस्तै महोत्सवको दोस्रो दिन नेपाली सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको अन्तरक्रियामा चलचित्र विकास बोर्डका सदस्य राजु केसी, महोत्सवका कोअर्डिनेटर चिरञ्जिवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुसान्त श्रेष्ठ वक्ता थिए । अन्तरक्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।
समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा अग्रज संगीतकार बासकोटाले यस्तो अन्तर्राष्ट्रिय महोत्सवलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । यस्तै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले एउटा फरक अन्तर्राष्ट्रिय फिल्म महोत्सवका रुपमा नेपाल अफ्रिका फिल्म फेस्टिभल स्थापित भएको बताए ।
आयोजक संस्था कलेज अफ जर्नालिज्मकी प्रिन्सिपल एवम् फेस्टिभल डाइरेक्टर डा. मञ्जु मिश्रले अफ्रिकाले आफूहरुलाई बेवस्ता गर्दा पनि नेपालमा महोत्सव गर्दै आएको बताइन् । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोशी प्रदेशकी सांसद मिना श्रेष्ठलगायतले नेपालमा बसेर सिने प्रेमीलाई अफ्रिकन फिल्मको स्वाद यो महोत्सवले दिँदै आएको बताए ।
महोत्सवका म्यानेजर डब्बु क्षत्रीले आर्थिक अभावका कारण पनि आफूहरुले यो महोत्सवलाई आफ्नै खर्चमा यहाँसम्म ल्याउन सकेको बताए । महोत्सवबाट अफ्रिका महाद्विप र बारिहका सिनेकर्मीले अफ्रिकामाथि बनेका उत्कृष्ट फिल्मलाई देखाउने गरेको क्षत्रीले बताए । समापन समारोहमा गायक सविन सुवेदीले गीत प्रस्तुत गरेर दर्शकलाई मनोरम तुल्याए ।