पोस्ट प्रोडक्सनमा रहेको दीपेन्द्र के खनाल निर्देशित 'पशुपति प्रसाद २ : भष्मे डन' अमेरिकाका इन्डिपेन्डेन्ट हलहरुमा प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण कम्पनी टुकी आर्ट्ससँग सेभेन सिज प्रालिबीच भएको सम्झौताले फिल्मको अन्तर्राष्ट्रिष प्रदर्शन पक्का गरेको हो ।
सेभेन सीजले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सिनेमा चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिसलगायतका इन्डिपेन्डेन्ट हलहरुमा करिब १ हजारदेखि बाह्र सय सो गर्ने निर्णय भएको निर्माण कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार क्यानडामा १५० सो, अस्ट्रेलियाका विभिन्न सहरहरुमा करिब पाँच सय सो र मध्यपूर्वका विभिन्न देशहरुका हलमा ७ सय ५० सो हुने तयारी छ । त्यस्तै, जापानको युएनउ इन्टरटेन्टमेन्टका उज्ज्वल गुरागाईंका अनुसार अहिलेसम्म नेपाली फिल्म नै प्रदर्शन नभएका सहरहरु होक्काइदो नारा र नागोयाको मीडल्यान्ड स्क्वायर सिनेमामा करिब १ सय सोको तयारी रहेको जनाइएको छ ।
'नेपाली फिल्मको इतिहासमा सायद पशुपति प्रसाद २ भष्मे डनको अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुनेछ,' विज्ञप्तिमा निर्माण कम्पनीले दाबी गरेको छ ।
फिल्म नेपाललगायत भारत, कोरिया, मलेसिया, इराक, हङकमा यही दसैंको फूलपातीको दिन एकसाथ प्रदर्शनमा आउने छ ।