अभिनेता, मोडल तथा कार्यक्रम प्रस्तोता नरेश भट्टराई नयाँ टेलिभिजन कार्यक्रममार्फत दर्शक माझ आउने भएका छन् । ‘केही कुरा नरेशसँग’ नाम रहेको कार्यक्रम अन्तर्वार्ता शैलीमा अहिलेसम्मै भिन्न हुने उनको भनाई छ । मान्छेले जिन्दगीको सबै कुरा एक अन्तर्वार्तामा भन्न नसक्ने र केही कुरा मात्र भन्न सक्ने भएकोले कार्यक्रमको नाम ‘केही कुरा नरेशसँग’ राखिएको भट्टराईले बताए ।
‘मेरो जिन्दगीका धेरै सिकाई, भोगाइ र अनुभव ‘केही कुरा’ मार्फत बाहिर ल्याउँदैछु’, भट्टराईले भने– ‘म अहिले जे छु, जस्तो छु । त्यो सबै दर्शक श्रोताको मायाले हो । अझै दर्शक श्रोताको मन जित्न र पोजेटिभ भाइब्स दिन नयाँ कार्यक्रम ल्याउन लागेको हो ।’ कार्यक्रम नेपाली टेलिभिजनको पृथक र उत्कृष्ट हुने दाबी उनको छ ।
‘अहिले धेरै टेलिभिजन छन् । ती टेलिभिजनमा अनगिन्ती कार्यक्रम छन् । ती कार्यक्रम भन्दा मेरो भिन्न हुनेछ । उस्तै भए मैले गर्नुको औचित्य के रह्यो र’ भट्टराईले थपे ।नरेशले कार्यक्रम ‘केही कुरा नरेशसँग’ सबै तयारी गरिसकेका छन् । जसको सेट डिजाइन टौवा क्रियसनको विजय बस्यालले गरेका छन् । प्रसारका लागि केही टेलिभिजनसँग उनको कुरो भइरहेको छ । अहिलेसम्म टेलिभिजन फिक्स भने उनले गरिसकेका छैनन् । मैले गर्ने यो कार्यक्रमका लागि धेरै टेलिभिजनले चासो देखाएका छन् । छिट्टै फिक्स गरेर आफूले कार्यक्रम ल्याउने नरेशले सुनाए ।
नरेश पछिल्लो हिट टेलिभिजन कार्यक्रम ‘मेरो एउटा साथी’ हो । जुन अहिले समय प्राइम टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । कार्यक्रम अहिले प्रसारणमा भएपनि उनले भने यो कार्यक्रम सञ्चालन गर्न छोडेका छन् । एउटा फरक र सबैले वाहा भन्ने कार्यक्रम ल्याउन आफूले ‘एउटा साथी’ बाट अहिलेलाई ब्रेक लिएको भट्टराईले बताए ।करिब तीन दशकदेखि व्यावसायिक उद्घोषणमा सक्रिय नरेश नेपालको पहिलो रियालिटी शो ‘आँगन’ का समेत होस्ट हुन् नृत्यको विधा समेटिएको उक्त शो नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो ।
जतिबेला भ्वाइस टेस्ट गरेर मात्र रेडियोमा बोल्न पाइन्थ्यो । त्यो समयदेखि अहिलेसम्म निरन्तर रेडियो, टेलिभिजन, स्टेज कार्यक्रममा बोल्दै आएका उनले २०५४ सालदेखि रेडियो अध्यात्म ज्योति १०० मेगाहर्जमार्फत बोल्ने पेसा व्यावसायिक रूपमा अगाडि बढाएका हुन् । त्यसपछि क्लासिक एफएम १००, इमेज एफ १०० मा पुगेका उनी इमेज एफएममा २० वर्षदेखि निरन्तर बोलिरहेका छन् ।
इमेज एफएममा समाचार, राजनीतिक कुरा गर्ने कार्यक्रम ‘शुभ दिन’ विगत १९ वर्षदेखि नियमित सञ्चालन गर्दै आएका उनी सबैभन्दा धेरै स्टेज कार्यक्रम गर्ने व्यक्ति हुन् । स्टेज कार्यक्रमको सिलसिलामा देशको प्रायः भूभागको अलवा नेपालीहरूको बसोबास गर्ने देशहरू पुगिसकेका छन् । अचेल बोलेर पनि कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।
पहिले राजपरिवारको उपस्थितिमादेखि अहिलेको राष्ट्रपति भवनमा हुने कार्यक्रमसम्म सञ्चालन अनुभव भएका उनी सबैतिर बोल्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् ।
कहिलेकाहीँ दैनिक तीन वटासम्म स्टेज शो सञ्चालन गर्ने उनी बोलेरै महिनामा धेरे कमाउनेमा पर्दछन् । तर आम्दानी भन्दा पनि बोलेर राम्रो जीवन बाच्न सकिन्छ । देश विदेश घुम्न सकिन्छ भन्ने आफूले ट्रेन सेट गर्न सकेकोमा खुसी हुन्छन् उनी ।
दर्जन बढी फिल्म र दुई दर्जन म्युजिक भिडियोका मोडल उनले थुप्रै म्युजिक भिडियो विज्ञापन पनि अभिनय गरेका छन् । भ्वाइस ओभरदेखि स्टेज कार्यक्रमसम्म व्यस्त उनी टेलिभिजन, रेडियो र स्टेज कार्यक्रम सबैतिर छाउन सफल छन् । यी तीन कार्यक्रमको बारेमा भिन्न भिन्न बुझाइ छ उनको । ‘स्टेज कार्यक्रममा दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाइने भएकोले अझै मजा लाग्छ । टेलिभिजनले सेलिब्रेटी बनाउँछ, रेडियोले फ्यान बढाउँछ’ उनले भने ।