फिल्म ‘गणपति’को सर्वाधिकार (पूर्ण प्रभुत्व) ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजालले लिएका छन् । एबिगम्यान फिल्म्सले रिजालको कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनलाई फिल्मको सर्वाधिकार दिएको हो । योसँगै जनै पूर्णिमाको अवसरमा आगामी भदौ १४ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ । यस अगाडि जेठ ५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।
आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् । स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि फिल्ममा अभिनय रहेको छ ।
सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल छन् भने कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् । निर्देशक अधिकारीले फिल्मले नेपाली समाजको वास्तविक चरित्रचित्रण गर्ने बताए । श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने फिल्ममा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत, देवेन्द्र बब्लु र अनिस स्वयंको स्वर छ ।