नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईले फ्रान्सको राजधानी पेरिसमा धमाका मच्चाएका छन् ।
नेपाली सांस्कृतिक गृहले केही दिनअघि आयोजना गरेको १८औँ नेपाल महोत्सवमा गायक राईले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
गायक राईले मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए ।
त्यसपछि उनले क्रमश: दर्शन नमस्ते, नाइ नभन्नु ल, म त मर्छु कि क्या हो ठूली, यानी माया, दिक्तेल बजार लगायतका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
गायक राईको लगातार दुई घण्टाको सांगीतिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए ।
महोत्सवमा नेपाली कला र संस्कृतिलाई माया गरेर नेपाली त नेपाली तर विदेशीहरुको पनि बृहत उपस्थितिले आफूहरूलाई थप हौसला मिलेको नेपाली सांस्कृतिक गृहका संयोजक कविन्द्र कायस्थले बताए ।
महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुनमार्फत नेपाल राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिने उनले बताए ।
नेपाली सांस्कृतिक गृहले नेपाली कला संस्कृतिलाई सम्बर्धन गर्न फ्रान्समा हरेक वर्ष नेपाली महोत्सवको आयोजना गर्दै आएको छ ।
राईले फ्रान्स बसाइको क्रममा महामहिम राजदुत दिपक अधिकारिसँग पनि भेटघाट गरेका छन् ।