फिल्मको सफलता र असफलता कलाकारमा निहीत रहँदैन । फिल्मको भाग्य त स्क्रिप्टकै चरणमा लेखिसकेको हुन्छ । कलाकारले आफूले पाएको चरित्र कुशलतापूर्वक निभाउने मात्र हो । यद्यपि, फिल्मको सफलता र असफलताले एउटा कलाकारको करिअरमा ठूलो अर्थ भने राख्ने गर्छ । सफलताले करिअरलाई मजबुद बनाउन भूमिका खेल्छ भने असफलताले संकटउन्मुख बनाउन सक्छ ।
अभिनेत्री प्रकृति श्रेष्ठको करिअर अहिले संकटउन्मुख छ । किनभने फिल्मको असफलताले उनलाई छाडेको छैन । यद्यपि, उनले सफलता पनि देखेकी छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको डेब्यू फिल्म ‘होस्टेल’ नै हिट भएको थियो । उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । तर, यसपछि अरु फिल्म सफल नहुँदा उनले अहिले पनि ‘होस्टेल’कै ब्याज खानु परिरहेको छ ।
‘होस्टेल’पछि उनले ‘आभाष’, ‘जिन्दगी रक्स’ र ‘उत्सव’मा काम गरिन् । तीनै फिल्म असफल भए । यसपछि विवाह गरेर अष्ट्रेलिया हानिएकी उनी करिब ६ वर्षपछि फिल्म ‘बिहे पास’बाट अभिनयमा फर्किइन् । फिल्ममा उनको अपोजिटमा सुपरस्टार दयाहाङ राई थिए । प्रकृतिलाई डेब्यू जस्तै कमब्याक पनि सुखद हुने आशा थियो । तर, न फिल्म चल्यो न उनको अभिनयको प्रशंसा भयो ।
हुन त उनलाई फिल्मको असफलताले खासै अर्थ नराख्न सक्छ । किनकि, उनी अष्ट्रेलियामै ‘सेटल’ छिन् । फिल्म अफर आउँदाखेरि अष्ट्रेलियाको व्यस्तताबाट समय निकालेर काम गर्ने मात्र हो । फिल्मकै भरमा करिअर र जीवन चलाउन पर्ने बाध्यता कमसेकम उनलाई छैन । तर, कलाकारको हिसाबमा उनको करिअरको समीक्षा त हुन्छ नै । अब प्रकृतिलाई एउटा हिट फिल्मको खाँचो छ ।