केही समययता नेपाल नेटवर्क टिभीबाट प्रशारण भइरहेको सिरियल ‘सरखारको सर’को निर्देशनमा व्यस्त विनयराज पौडेल २०५५ सालमा निर्माण भएको नेपालको पहिलो आर्ट फिल्म ‘चमेली’बाट बालकलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । ३५ भन्दा बढी सानो, ठूलो पर्दाको चलचित्रमा मुख्य, सहायक निर्देशक हुँदै अहिले एकल निर्देशनमा आफूलाई स्थापित गरिसकेका पौडेलले ‘कृष्णलिला’, ‘बिहे पास’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘लभयु हमेशा’, ‘पोइपर्यो काले’, ‘मेला’लगायतका चलचित्रमा काम गरिसकेका छन् । उनले निर्देशन गरेको ‘नुनको भारी’ले अनुअल टुबोर्ग इमेज अवार्ड कार्यक्रममा बेष्ट निर्देशक, बेष्ट सम्पादक र बेष्ट छायाँकनको अवार्ड जित्न सफल भएको थियो । ठूलो लगानी लगाएर हजारौंलाई रोजगारी प्रदान गर्ने सिनेमा क्षेत्रप्रति राज्य उदासिन रहेको बताउने युवा निर्देशक विनयराज पौडेलसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय गरिरहनु भएको सिरियल कस्तो विषयवस्तुमा आधारित छ ?
अहिले काम गरिरहेको सिरियल ‘सरखारको सर’ समसामयिक विषयवस्तु या भनौं अहिले समाजमा घटिरहेका यथार्थ घटनाहरुमा आधारित छ ।
कलाकारिता गर्दै निर्देशक हुनुभएको छ, भाबी लक्ष्य के छ ?
एउटा सफल निर्देशक बनेर देशमा मात्र होइन देश बाहिर पनि नेपाली चलचित्र यस्तो बन्छ है भनेर चिनाउने लक्ष्य छ ।
चलचित्र निर्देशन र भिडियो निर्देशनमा के भिन्नता छ ?
धेरै फरक छ । चलचित्र ठूलो क्यानभास भयो फराकिलो हुन्छ । देखाउन खोजेको फुर्सदिलो पाराले देखाउन सकिन्छ जुन भिडियोमा अलिक गाह्रो हुन्छ । भिडियोमा छोटो समयमा धेरै कुराहरु देखाउनुपर्ने हुन्छ ।
टेलिभिजन मिडिया बढेसँगै सिरियल निर्माणमा पनि बढोत्तरी देखिन्छ, तर नचल्नुको कारण ?
नचल्नुको कारण भनेको स्मार्ट फोन जुन हात, हातै हेर्ने बानी अहिलेको नयाँ जेनेरेसनमा पर्यो । जसले गर्दा मान्छेहरु टिकटक हेरेर मनोरञ्जन लिन थाले । टेलिभिजन कम हेर्नुको मुख्य कारण यही होे ।
कस्तो खालको सिरियलमा बढी दर्शक आकर्षित हुन्छन् ?
यस्तै ‘सरखारको सर’ जस्तै । समसामयिक, पारिवारिक अनि कमेडीप्रति दर्शक अलि बढी आकर्षित हुने गरेको पाएको छु ।
म्युजिक भिडियो पनि निर्देशन गर्नुहुन्छ । भिडियो निर्देशन, निर्माणमा विशेष ध्यान दिनुपर्ने पक्ष के हो ?
विशेष ध्यान दिनुपर्ने भनेको गीतअनुसारको कथा, लोकेसन अनि पात्रहरुको छनोट ।
यति धेरै फिचर्स फिल्मको निर्देशन गरिसक्नु भएको छ । फिचर्स फिल्म नपाएर सिरियलतिर लाग्नु भएको हो ?
हौइन, होइन । अहिलेको व्यस्त समयलाई सदुपयोग गर्दै मान्छेहरु फुर्सद भयो कि फोनमै संसार देख्छन्, त्यसैमा जुनसुकै बेला जहाँ पनि हेर्न मिलोस् भनेर सिरियल पनि गर्न थालेको हुँ । गर्ने त फिल्म नै हो, तयारी हुँदैछ ।
६०–७० वर्षको इतिहास बोकेको भएपनि यो क्षेत्र व्यावसायिक बन्न सकेन भन्छन् नि ?
अन्तर्राष्ट्रिय बजार नखोज्नु, राज्यबाट पहल नहुनु, अहिलेसम्म उद्योगको मान्यता पाएपनि व्यवहारमा मान्यता नपाउनु नै होलान् मुख्य कारणहरु । नत्र यत्रो अन्तरालमा भारतीय सिनेमा उद्योग ‘बलिउड’ कहाँबाट कहाँ पुग्यो, हाम्रो इतिहास मेटिन थाल्दै छ ।
तपाईंको विचारमा यो क्षेत्रको संस्थागत विकासका लागि के गर्नुपर्ला ?
यसमा पनि यही कुरा आउँछ, मैले अघि नै भने मुख्य भनेको राज्यबाटै पहल गर्नुपर्छ । विदेशी फिल्म सरह हाम्रो फिल्म पनि अन्तर्राष्ट्रिय बजार पुग्नुपर्छ । आफ्नै मुलुकमा हामीलाई विदेशी फिल्मभन्दा टाढा राखिन्छ ।
नेपालमा स्टारडम्सको महत्व नहुनुको कारण के होला ?
आफूलाई रिजर्भ राख्न नसक्नु । टिकटकदेखि रिलसम्म देखिनु । जे पायो त्यै खेल्नु । मान्छेले फलानो स्टारको फिल्म भनेर कुरुन् न अनि पो स्टारडमको महत्व हुन्छ ।
नयाँ धार र पुरानो धारको विवाद उठिरहन्छ, वास्तम्बमा के हो यो ?
खासमा केही होइन यो । नयाँ जोगी खरानी धेरै घस्छन् भने झैं हो । आफूलाई चर्चामा ल्याउने, पुरानालाई होच्याउने बाहेक फगत केही होइन । हामीले विवाद गर्ने होइन, मिलेर काम गर्ने हो । रिजलटले देखाउने हो । पुरानालाई सम्मन गर्ने, उहाँहरुको अनुभवलाई कैद गर्ने हो ।
नेपाली कला क्षेत्रको समग्र विकासका लागि राज्यबाट के अपेक्षा गर्नुहुन्छ ?
राज्यले आफ्नै कला, धर्म, संस्कृति, मौलिक कथाअनुसारको चलचित्रलाई प्रोत्साहन गरेर विश्वसामु चिनाउने प्रयास गर्नुपर्छ । राज्यले चाहे के हुँदैन ? तर यसतर्फ ध्यान नै छैन ।
निर्माताको लगानी सुरक्षित गर्न निर्देशकको भूमिका के हुन सक्छ ?
अहम भूमिका हुन्छ । दर्शकको मनोभावना बुझ्न सक्नुपर्छ । त्यहीअनुसारको चलचित्र बनाउन निर्मातालाई प्रोत्साहन गर्नुपर्छ । निर्माता भनेको भगवान, अन्नदाता हुन् । हामीले उहाँहरुलाई फेरि, फेरि काम गर्न सक्ने वातावरण बनाउने कोसिस गर्नुपर्छ । पाएँ भन्दैमा निर्मातालाई भुत्ल्याएर नाङ्गो बनाउनु हुँदैन ।
लामो समयदेखि यो क्षेत्रमा निरन्तर खटिरहनुभएको छ । अवार्ड, सम्मानहरु त पाउनु भएको होला नि ?
मूल्यांकनअनुसारको पाएको छु । मलाई अवार्ड, सम्मनमा खासै रुचि छैन । मेरो अवार्ड, सम्मनहरु भनेका दर्शकहरु हुनुहुन्छ । मेरा लागि उहाँहरु नै अवार्ड र सम्मान हुन् ।