यही शनिबार (जेठ २० गते) ‘जारी’ले प्रदर्शनको ५१औं दिन पूरा गर्नेछ । क्यूएफएक्स चेन, बिग मुभिज, वान् सिनेमाज्, बिएसआर मुभिज, आइएनआइ सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा फिल्म अझै प्रदर्शनरत छ भने एक दर्जन ज्यादा सिंगल थिएटरमा पनि टिकिरहेको छ । ५१औं दिनको मुखमा समेत हलमा फिल्म हेर्ने दर्शकको चाप सुखद छ ।
प्रदर्शनको ५१औं दिनलाई फिल्म सफलताको मानक मानिन्छ । एनलग (रिल)को जमानामा यसलाई सामान्य मानिने गरिएको भए पनि अचेल सुपरहिट फिल्मले समेत यो अवधिसम्म हलमा टिक्नका लागि ठूलो संघर्ष गर्नुपर्छ । अघिल्लो वर्ष ‘कबड्डी ४’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ले मात्र यो सफलता प्राप्त गरेका थिए । र, यस वर्षको पहिलो ५१औं दिन मनाउने फिल्म ‘जारी’ बन्ने भएको छ ।
बक्सअफिसमा १७ करोड आसपास कमाई गरेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लिम्बू समुदायमा विद्यमान जारी प्रथालाई मियो बनाएर प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, म सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेको अभिनय रहेको छ ।