ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३ माया)को शुभमुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहनेछ । शुक्रबार विहान सम्पूर्ण कलाकारको उपस्थितिमा शुभमुहूर्त गरिएको हो ।
निर्माण समूहले चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी बताए ।
‘पैतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने ।
शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएको थियो ।
‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् ।
चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्जवल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रएको छ ।