बलिउड अभिनेत्री भूमि पेड्नेकरले हिमाल सफा गर्ने अभियान घोषणा गरेकी छन् । विश्व पृथ्वी दिवसको अवसरमा उनले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षणमा काम गर्ने गैरनाफामूलक संस्था ‘हिलिङ हिमालयज’सँग मिलेर काम गर्ने योजनाबारे खुलासा गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) दूतसमेत रहेकी भूमि अब हिलिङ हिमालयको सद्भावना दूत बन्ने भएकी छन् । यो भूमिकाले उनलाई हिमाली क्षेत्रमा यात्रा गर्ने र हिमालयलाई सफा राख्ने अभियानमा सहभागी गराउनेछ ।
हिलिङ हिमालयज फाउन्डेसन फोहोरको समस्यालाई बेग्लै तरिकाले सम्बोधन गर्न गठन गरिएको सात वर्ष पुरानो संस्था हो । हिमालयको प्राचीन प्राकृतिक वातावरण पुनस्र्थापना गर्ने यसको उद्देश्य छ । रमणीय हिमाली क्षेत्रबाट फोहोरहरु संकलन गर्ने कार्य यस संस्थाले लिएको छ । जसअनुसार पदयात्री वा तीर्थयात्रीले फ्याँकेका नकुहिने वस्तु संकलन गरेर यसलाई पुनः प्रयोग गर्न सकिने उद्देश्यसहित सहर-सहरमा उचित रुपमा डिस्पोज गरेर फोहोर व्यवस्थापन गर्नु हो ।
यो सफाइ अभियानमा सक्रिय केही गाउँले संकलन गरिएका फोहोर व्यवस्थापका लागि पाँचवटा रिकभर सुविधाको निर्माण गरेका छन् । यसका लागि तत्काल केही भारतीय हिमाली गाउँ रोजिएको छ, जहाँ पर्यटकको अधिक चहलपहल छ । सिमलासहितका केही हिमाली जिल्ला गाउँमा पाँचवटा रिकभर सुविधा स्थापना छन्, जहाँ गत वर्षदेखि दैनिक ४-५ ट्रक नकुहिने फोहोर संकलन हुँदै आएको छ, जुन करिब ५५० टन हो ।
उक्त संस्थाको बारेमा बोल्दै भूमिले भनिन्, ‘हिलिङ हिमालयको आदर्श वाक्य ‘परिवर्तनको लागि नपर्खनुहोस्, परिवर्तन हुनुहोस्’ साँच्चै मसँग प्रतिध्वनित भयो । म विश्वास गर्छु कि हामी प्रत्येकले यो ग्रहप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुपर्छ । प्रदूषण र ग्लोबल वार्मिङको प्रभावलाई कम गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ । अब काम गर्ने समय हो ।’