कार्यपालिका बैठक बहिष्कार गरेर हैरान पारिरहेका वडाध्यक्षलाई लक्षित गर्दै धरानका प्रमुख हर्क साम्पाङले ‘गुइँठे’ शब्दले प्रहार गरेको धेरै भइसक्यो । त्यही कारण वडाध्यक्षहरुले साम्पाङलाई ‘धक्कुले’ उपमा दिएका छन् ।
धरानमा केही दिनयता ‘धक्कुले’ र ‘गुइँठे’ नामका पात्रबीच झैझगडा जारी छ । एकले अर्कोलाई अस्वीकार गर्दा धरानको विकास र समृद्धिमा बाधक त भइ नै रहेको छ, पालिकाको नियमित बजेट निर्माण प्रक्रिया र कार्यक्रम सम्पन्न गर्नै पनि समस्या भइरहेको छ ।
तर उपमहानगर प्रमुख हर्क साम्पाङले आफ्नो काममा अवरोध गर्नेहरुलाई लक्षित गर्दै यो एक सातामा गाएका दुई वटा गीत भने भाइरल नै बनेका छन् । साम्पाङले वडाध्यक्षहरुलाई लक्षित गर्दै गीतै बनाइदिए । जसको हरफ नै ‘गुइँठे गुइँठे गुई..गुई..ठे...., गुइँठे गुइँठे गुई..गुई..ठे... गुइँठे हो साथी गुइँठे...’ छ ।
गत वैशाख ४ गते राति व्यङ्ग्यात्मक ढंगले आफ्नो फेसबुक पेजमा लाइभमार्फत पोष्ट गरेको यो गीत २ लाख १७ हजारले हेरिसकेका छन् । उनले ‘लु खा...’ लेखेर पोष्ट गरेको गुइँठे गीत धेरैको मुखमा झुण्डिसकेको छ । गीतमा उनले आफूलाई काम गर्न नदिनेलाई ‘गुइँठे’ भनेर सम्बोधन गरेका छन् ।
उनको गीतमा खुट्टा तान्न छोडेर पाइप तान्न आउ बरु, झोला होइन साथी ढुंगा बोक भनेर काममा लाग्न आह्वान गरेका छन् ।
आफ्नो आलोचनाको साटो मिलेर श्रमदान गर्न आह्वान गर्दै गीतमार्फत उनले सुकिलो, मुकिलो बनेर फुर्सदमा हिँडिरहनु भन्दा धुलो, मैलो भएर काम गर्नु, फोहोर सफा गर्नु नै बेस भन्ने सन्देश पनि दिएका छन् ।