नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण ‘सबैका लागि मानवअधिकार उत्सव’ नारासहित वैशाख १५ गतेबाट सुरू हुनेभएको छ । महोत्सवको सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म, वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा र काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ सम्म हुने आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको छ।
महोत्सवमा युरोपका निर्देशकहरूको आठसहित नेपाली निर्देशकहरुले निर्माण गर्नुभएका छोटा चलचित्र प्रदर्शन गरिनेछन् । सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरूको महोत्सवको सुरूवात यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ। महोत्सवमा अरस टी रिहानीले निर्देशन गर्नुभएको अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेको रमोना (स्पेन), दोनातो रोतुनको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाजी सन्जभीको इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशनमा बनेको इनभिजिबल (लिथुआनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनको डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गर्नुभएको मित्र (नेदरल्याण्डस्) प्रदर्शन हुँदैछन् ।
महोत्सवमा अङ्कित खड्कीको निर्देशन रहेको ‘आई वान्टेड टु बी लाईक माधुरी दीक्षित’, विशाल रोक्का मगरको निर्देशन निर्देशन रहेको ‘गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिक’, मिन्शो लिम्बुको ‘जुनको’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ्ग विथ डिग्नीटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘डिफिटिङ्ग क्लाउडस्’ प्रदर्शन गरिने तालिका छ।
महोत्सवमा ‘मानवअधिकार प्रवद्धर्नमा चलचित्रको भूमिका’ विषयमा छलफलसमेत हुनेछ । युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनीस्ल्यास इड सहभागी हुनेछन् भने नेपालबाट चलचित्र निर्माता तथा निर्देशक अरुण डेओ जोशी र डा. सचिन घिमिरे पनि सहभागी हुनेछन् । यस संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४ : द फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री मगर अभिनित ‘जारी’ प्रदर्शनरत छ । विगत एघार वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले महोत्सव गर्दै आएको छ ।