आउँदो शुक्रबार वैशाख १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को प्रिमियर काठमाडौंमा गरिएको छ। प्रदर्शनभन्दा पाँच दिन अगाडी नै गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। ‘प्रसाद’ को सिक्वेल रहेको फिल्म हेरेपछि अभिनेता भुवन केसीले उठान गरिएको विषयसँगै कलाकारको अभिनयको तारिफ गरे।’मनोरञ्जनसँगै संदेश बोकेको फिल्म बनेको छ। सबैले जिवन्त अभिनय गरेकाछन्। यो हृदयस्पर्शी बनेको छ। म दर्शकलाई हेर्न आग्रह गर्छु’,अभिनेता केसीले भने। अभिनेत्री रीमा विश्वकर्माले राम्रो बन्ने फिल्म मध्ये एक ‘प्रसाद २’ रहेको बताईन् ।
‘यसले उठान गरेको विषय सशक्त र गम्भीर छ। यसले दर्शकलाई मनोरञ्जनसँगै समाजको कुरीति बारे अवगत पनि गराउछ’, अभिनेत्री विश्वकर्माले भनिन्। अभिनेत्री रेखा थापाले लेखिएको पटकथालाई निर्देशकले पर्दामा ल्याउन सफल भएको बताईन्। उनले भनिन्,’पात्रलाई सम्पूर्ण कलाकारले बाचेका छन्। यो विषयले समाजलाई रूपान्तरण गर्छ भन्नेमा विश्वस्त छु। यस्ता फिल्म बन्नुपर्छ। साथै म निर्देशकको कामको प्रसंशक हुँ।’अभिनेता दीपक राज गिरीले नेपाली फिल्म चल्नुपर्ने बताए। ‘सबै फिल्म चल्नुपर्छ भन्ने मान्यता राख्दछु। फिल्म राम्रो बनेको छ। विपिनको अभिनयको कुरा गर्नै परेन। यहाँ केकीले राम्रो अभिनय गरेकी छिन्’,अभिनेता गिरीले भने।
अभिनेत्री पुजा शर्माले फिल्मको गीतसङ्गीत पनि उत्तिकै सशक्त रहेको प्रतिक्रिया दिईन्। ‘म फिल्म हेर्दा रोए, हाँसे। मैले कथासँग जोडिएको महसुश गरे’, अभिनेत्री शर्माले भनिन्। फिल्ममा रमेशको भूमिकामा देखिएका अभिनेता अर्पण थापाले फिल्म हेर्न पाएनन्। यद्यपी पाएको प्रतिक्रियाले उत्साहित छन्। ‘म पोखराबाट आउँदा केही ढिला भयो। प्रतिक्रिया लिईरहेको छु। मेरो मात्र नभई समग्रमा फिल्मनै मन पराउनु भएको छ’,अभिनेता थापाले भने।
फिल्ममा नारायणीको भूमिकामा प्रस्तुत अभिनेत्री केकी अधिकारीले दर्शकको रूपमा समेत इञ्जोय गरेको बताईन्।’मैले आफ्नो भूमिकासँगै सम्पूर्ण कलाकारको काम राम्रो छ भन्ने प्रतिक्रिया पाएकी छु। यसमा उठान गरिएको विषयलाई सबैले रूचाउनु भएको छ। फिल्म बुझ्नेमार्फत पाएको प्रतिक्रियाले म सहित टिमनै उत्साहित छौँ’,अभिनेत्री अधिकारीले भनिन्। फिल्ममा बाबुरामको भूमिकामा रहेका अभिनेता विपिन कार्कीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएको बताए। ‘कलाकारको काम, उठान गरिएको विषय र लेखनको तारिफ भएको छ। उत्साहित छु’,अभिनेता कार्कीले भने।
अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ ।मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।
अघिल्लो भागको विपिन कार्की बाहेक केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी नयाँ अनुहार हुन्।फिल्ममा सुदर्शन बस्नेत निर्माता रहेकाछन् भने सुभाष थापा प्रस्तुतकर्ता हुन् । सुशील पौडेलको लेखन रहेको फिल्मलाई गोपालकाजी कायस्थले वितरण गर्दैछन् ।