केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान–नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड-२०२३ आयोजना हुने भएको छ ।
अवार्डका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अन्तर्गत बहुविधामा पुरस्कार प्रदान गरिने, अग्रज कलाकारलाई सम्मान गर्ने तथा नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको एवार्ड कार्यक्रममा विषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिए बमोजिमको अवार्ड सिफारिस गरिने बताइएको छ ।
नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई टोक्यो, जापानमा पुरस्कृत गरिने छ । उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ । अवार्ड विरतण समारोहमा नेपाली तथा जापानी लोक संस्कृति सम्बन्धि साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ ।
नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोका विभिन्न विधागत क्षेत्रहरू चयन गरि दुबैतर्फ उत्कृष्ट अवार्ड प्रदान गरिने छ । अग्रजको सम्मान वर्तमान पुस्ताको पहिचानसहित अग्रज चलचित्र कलाकार, अभिनेता, अभिनेत्री, गायक, गायिका तथा अन्य प्राविधिक व्यक्तित्वहरूमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ ।
चलचित्र तथा म्यूजिक भिडियोतर्फ उत्कृष्ट अभिनेता र अभिनेत्री, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ । सोही अनुरुप बहुभाषिक म्यूजिक भिडियोतर्फ पनि उत्कृष्ट अभिनेता र अभिनेत्री, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने छ । यी पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने बताइएको छ । निर्णायक समितिको सिफारिस र निर्णय नै अन्तिम निर्णय हुने आयोजकको भनाई छ ।
अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहेका छन् ।
नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुति सहित आगामी वैशाख ३० गते (१३ मे २०२३) का दिन जापानमा हुने कार्यक्रममा पुरस्कृत कलाकार, स्रष्टा, सर्जक तथा सम्मानित कला साधकहरूलाई सम्मान अर्पण गरिने छ ।
चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो [email protected] मा पठाउन सकिने छ ।
अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनको सभापतित्व अभिनेता विशाल बिष्टले गरेका थिए । कार्यक्रममा पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, उत्तम केसी, कविता गेलाल, कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य आदि कलाकारहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।