‘फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३’ हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार भेटघाटको आयोजनागरी यो अवार्डको जानकारी गराइएको हो । अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्टले गर्नुभएको थियो भने अतिथिहरूमा अभिनेता पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुसाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतका रहनुभएको थियो । उहाँहरूले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा हुने यस अवार्डमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो अन्तरगत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको आयोजकले जानकारी गराएको थियो ।
नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई नाकानो कु, नाकानो २-९-७ टु १६४-००१ टोकयो जापानमा पुरस्कृत गरिने बताइएको छ । उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिनुका साथै नेपाली तथा जापानी लोक संस्कृति सम्बन्धि सांस्कृतिक कार्यक्रम हुने आयोजकको भनाइ छ ।
अग्रजको सम्मान बर्तमान पुस्ताको पहिचानसहित अग्रज चलचित्र कलाकार नायक/नायिका, गायक/गायिका तथा अन्य प्राविधिक व्यक्तित्वहरूमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ । चलचित्र तथा म्युजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने पनि बताइएको छ ।
अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहनुभएको छ । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुतिसहित २०८० वैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा कार्यक्रम हुनेछ । चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो [email protected] मा पठाउन सकिने छ ।