फेसन तथा इन्टेरियर डिजाइनिङको अध्यापन गराएर दक्ष फेसन तथा इन्टेरियर डिजाइनरहरु उत्पादन गरिरहेको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा सातौं संस्करणको प्रतिस्पर्धात्मक फेसन शो ‘ड्रेस टु इम्प्रेसः सीजन ७’ आयोजना गरेको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित फेसन शोसहितको यो प्रतियोगितामा आईआईएफटीबाट अध्ययन पुरा गरेका फेसन डिजाइनिङका १ सय १० जना विद्यार्थीहरु आफैंले डिजाइन गरेका पहिरनमा र्याम्पमा उत्रिएका थिए ।
प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टको व्यवस्थापन तथा विपना थापाद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगितालाई विभिन्न चार श्रेणीमा विभाजन गरिएको थियो । प्रतियोगितामा फ्यूचरिस्टिक थिम, अण्डर द सी थिम, वाइल्ड लाइफ थिम तथा ब्ल्याक थिममार्फत प्रतियोगित फेसन डिजाइनरहरुले आफ्ना डिजाइनरहरु निर्णायक तथा उपस्थित दर्शकमाझ प्रस्तुत गरेका थिए ।
यो प्रतियोगितामा ‘फ्युचरिष्ट’ अर्थात ‘भविष्यको विषय’ थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भएकी छिन् । अण्डर द सी थिमतर्फ रोश्ना टमाटा उत्कृष्ट भइन् भने ‘वाइल्ड लाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्यजन्तु, प्रकृति र पर्यटन’ थिमतर्फ अफ्साना मिया विजयी भइन् । ब्ल्याक एण्ड बोल्ड थिमतर्फ सावित्रा देवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन् ।
चारै जना विजेताहरुलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ग्वार्कोमा रहेको केज फिटनेस सेन्टर तथा सिटी सेन्टरमा रहेको बज्र फिटनेस सेन्टरद्वारा प्रदान गरिएको गिफ्ट भौचर प्रदान गरिएको छ ।
प्रतियोगितामा अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, समाजसेवी तथा उद्यमी उज्वलकृष्ण श्रेष्ठसहितको निर्णायक मण्डलीले डिजाइनरहरुले प्रदर्शन गरेका पहिरनहरुको मूल्यांकन गरेको थियो ।
आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले फेसन डिजाइनिङमा गरिरहेका विद्यार्थीहरुको हौसला बढाउन तथा उनीहरुलाई दक्ष बनाउन यो प्रतियोगितात्मक फेसन शो आयोजना गरिएको हो । शेर्पाका अनुसार कोर्ष पुरा गर्ने अन्तिम चरणमा रहेका विद्यार्थीहरुको सिकाइ तथा मूल्यांकनको एउटा अंगको रुपमा यो प्रतियोगिता सञ्चालन गरिएको हो ।
गीतकार तथा फोटो पत्रकार हरिगोपाल प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस सीजन ७’ को क्रममा गीत, संगीत तथा नृत्यमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।