खोटाङको रावा बेसी गाउँपालिकाको बासिन्दाले टेलिभिजनको लोकप्रिय पात्र ‘इकु’ भेट्ने र उनीसँगै रमाउने अवसर प्राप्त गरेका छन् । खोटाङको रावा बेसी गाउँपालिका कुभिण्डेस्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औँ जन्म जयन्तीको अवसर पारेर आयोजित हीरक महोत्सव उनीहरूलाई शो अवसर प्राप्त भएको हो ।
कार्यक्रममा ‘इकु’ अर्थात हास्य कलाकार सुलेमान शंकरले आफ्नो इकु गेटअफसहित विभिन्न कमेडी पस्किएका थिए । सुलेमानको कमेडीमा दर्शक पेटमिचीमिची हाँस्न बाध्य भए ।
विद्यालयले ४ दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएको हीरक महोत्सवमा नेपाल सिङ्गिङ स्टार विजेता गायक राजेश राईले विभिन्न गीत सङ्गीतबाट दर्शक नचाए ।
वडा स्तरीय भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हीरक महोत्सवको उद्घाटन प्रतिनिधि सभासदस्य रामकुमार राई ‘पासाङ’ ले गरेका थिए ।
महोत्सवमा आयोजना गरिएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ डुम्रे धारापानीले जितेको छ । यस्तै वडा नम्बर १ कुभिण्डे दोस्रो र वडा नम्बर ५ दुवेको तेस्रो भएको थियो ।
कार्यक्रममा कुभिण्डे भित्र खुला लोकदोहोरी, आधारभुत स्तरीय हिज्जे, प्रावि स्तरीय एकल गायन, गाउँपालिका भित्रका अन्न विद्यालय हाजिरी जवाफ, खुला सामूहिक नृत्य प्रतियोगिता समेत आयोजना भएको थियो ।
६०औँ जन्म जयन्ती मनाउन सफल रत्नराज्य लक्ष्मी विद्यालयमा अहिले १० कक्षासम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि वडाध्यक्ष राईको नेतृत्वमा अक्षयकोष स्थापनाका लागि रकम सङ्कलन लगायतका कामहरू समेत जारी छ ।