गायक तथा गीतकार खडानन्द अधिकारीले ‘मेरी आमा’ गीतमार्फत मातृभूमिलाई सम्झिएको बताएका छन् । आफ्नै शब्द तथा स्वरमा रहेको यो गीत सार्वजनिक गर्दै गायक अधिकारीले आमाप्रतिको श्रद्धा अर्पण गरेको बताए । आफ्ना बुबा भक्त अधिकारीलाई प्रमुख अतिथि बनाएर गीतको श्रव्य–दृश्य सार्वजनिक गरेका अधिकारीले दूधको भारा तिर्न नसके पनि गीतमार्फत आमाप्रतिको श्रद्धा पूरा गरेको बताए ।
‘मेरी आमा’ सार्वजनिक कार्यक्रममा संगीतकारद्वय लक्ष्मण शेष र हरि लम्साल, गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, ध्वनि मुद्रक किशोर थापा, पत्रकार एवं गीतकार सुमन बैरागी लगायतको उपस्थिति रहेको थियो ।
भैँसेपाटीको संगीत नगरस्थित पन्च्व किचनमा आयोजना गरिएको उक्त कार्यक्रममा गायक अधिकारीका बुबा भक्त अधिकारीले माता र मातृभूमिप्रति सदैव प्रेम हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा संगीतकार लक्ष्मण शेषले गीतमार्फत खडानन्द अधिकारीले आमाको अभावलाई सम्झिएको बताए । उनले अधिकारीको शब्द, स्वर र अभिनयले आफूलाई ठाउँ ठाउँमा झस्काएको बताउँदै सबैका आमाहरुप्रति समर्पण भएको बताए ।
गायक सत्यराज आचार्यले गायक खडानन्द अधिकारीलाई शुभकामना दिँदै आकाशभन्दा माथि आमालाई पाएको बताए । आमाबिनाको घर शून्य प्रायः हुने बताउँदै गायक अधिकारीले गीतमार्फत आमाको प्रेमभाव र अभावसँगै सन्तानप्रति आमाको समर्पण झल्काएको बताए ।
गायक स्वरुपराज आचार्यले गायक खडानन्द अधिकारीको शब्द र स्वरको प्रशंसा गर्दै आमाको माया अनमोल रहेको बताउँदै भने– ‘घरमा हरेक चिज खोज्दा यो कहाँ छ आमा भनिन्छ तर बासँग पनि सोध्ने एकै कुरा हुन्छ त्यो पनि आमा खोइ बा ?’ भन्ने गरिन्छ । आमाबिनाको जिन्दगीको अर्थ नभएको गायक आचार्यले बताए ।
कार्यक्रमको संयोजन तथा संचालन संगीतकार हरि लम्सालले गरेका थिए ।
‘मेरी आमा’ गीतमा किशोर शिवाकोटीको संगीत रहेको छ । गीतको संगीत संयोजन फणिन्द्र राईको रहेको छ भने किशोर थापाको मिक्सिङ रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको म्यूजिक भिडियोमा गायक खडानन्द अधिकारी, मिथिला शर्मा र बसुधा घिमिरेको अभिनय रहेको छ । भिडियोको छायाँकन उत्तम हुमागाईंको रहेको छ भने विकास धमलाले सम्पादन गरेका छन् । गीतको भिडियो सुसेली अनलाईन टीभी यूट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।