बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा गायक तथा अभिनेता यश कुमारको सांगीतिक फिल्म ‘गल्ली’ सार्वजनिक भएको छ । १० मिनेट ३५ सेकेण्ड लामो उक्त म्युजिकल फिल्ममा गायक यश कुमार तथा मेचु धिमालको स्वर रहेको छ । गीतमा गायक यश कुमारकै शब्द तथा संगीत रहेको छ । देबेश राई गीत गीतका संगीत संयोजक हुन् ।
म्युजिकल फिल्ममा गायक यश कुमारसहित रेश्मा घिमिरे, राजेश घतानी तथा आयुष बराइलीको अभिनय रहेको छ । हरि हुमागाईंको छायांकन, विकाश धमलाको सम्पादन तथा गायक यश कुमारकै कथामा तयार पारिएको म्युजिकल फिल्मलाई निकेश खड्काले सम्पादन गरेका छन् ।
उक्त भिडियो सार्वजनिक गर्ने समारोहमा महानायक राजेश हमालले कुनै पनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने धारणा व्यक्त गरेका छन् ।
अभिनेता हमालले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताउँदै आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए ।
उक्त अवसरमा अभिनेता हमालले आफ्नो गीत आएर सुनाएका थिए ।
उनले कलाकार जीतु नेपालको फिल्म ‘ह्यारी की प्यारी’ अहिले आइरहेको र फिल्ममा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टासमेत गरे ।
कार्यक्रममा अभिनेता जीतु नेपालले शुक्रवारदेखि फिल्म ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै फिल्ममा आफू र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम कहानीको उतारचढाव रहेकाले सबैले हेरेर साथ दिन आग्रह गरे ।