भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुने गरी काठमाडौँको हात्तिसारमा 'इनसेसेन्ट रेन एकेडेमी' सुरु भएको छ ।नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनएएसोसिएट्स सँगको सहकार्यमा एकेडेमी सुरु गरेका हुन् ।
एकेडेमीको यहि सोमबार उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति रहेको थियो । उनले उक्त अवसरमा एकेडेमीले युवा नेपालीलाई दिने अवसर र यसले नेपाली चलचित्र उद्योगमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरेका थिए ।
त्यस्तै, बिहिबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् ।भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरेका थिए । उद्घाटनको दिनदेखि नै पढाई सुरु गरेका विद्यार्थीहरूसँग कुरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिँदै उनीहरूको सुखद भविष्यको बिश्वास व्यक्त गरे । साथै, राजदुत थम्पसनले काठमाडौँको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समेत भ्रमण गरेका छन् । सो क्रममा उनले विश्वभरका चलचित्रको लागि स्टुडियोका संचालक किरणभक्त जोशीको प्रशंसा गरे ।
एकेडेमीका संचालक किरणभक्त जोशी टेलिभिजन तथा चलचित्र निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन । उनले यस क्षेत्रमा तीन दशक बढि समय व्यतित गरेका छन् ।जोशीले आफ्नो करियर संयुक्त राज्य अमेरिकाको चर्चित हलिउड स्टुडियो 'वाल्ट डिज्नी स्टुडियो'मा सुरुवात गरेका थिए, जहाँ उनले थुप्रै चलचित्रहरुमा काम गरेका छन् ।
जोशीले काठमाडौँको गुणस्तरीय हिसाबले भिजुअल ईभेक्ट्स तथा एनिमेशनलाई मनोरञ्जन उद्योगको आवश्यकतालाई बुझेर पढाई हुन नसकेको महशुस गरी एकेडेमी सुरु गरेको बताए । उनले चलचित्रमा भिजुअल ईभेक्ट्स र एनिमेशन क्षेत्रमा समेत सक्षम कामदार तथा कलाकारको तीव्र जरुरत परेको चुनौतीलाई आत्मसात गर्दै दक्ष जनशक्तिको विश्वव्यापी अभावलाई मेटाउन एकेडेमीको सुरु गरेको उल्लेख गरे ।
यस क्षेत्रमा श्रृजनात्मक क्षमता भएका दक्ष जनशक्तिको विश्वव्यापी अभावले नेपालको लागि ठूला अवसरहरू सिर्जना गरेको छ, किनभने नेपालको जनसंख्याको आधा भन्दा बढी युवा छन् र उनिहरुका लागि लाभदायक रोजगारीका अवसरहरू चाहिन्छन् । नेपालको लागि प्राप्त यी अवसरहरूलाई शीघ्र हासिल गर्नु जरुरी छ र इनसेसेन्ट रेन एकेडेमीले त्यहि लक्ष्यमा काम गर्नेछ”, जोशीले बताए ।
"मनोरञ्जन उद्योगको वृद्धि कथाहरुका विविधता र समावेशी सामग्रीको विश्वव्यापीकरणबाट हुन्छ । 'कुङफु पाण्डा', '१४ पिक्स' र 'स्क्विड गेम' जस्ता विश्वव्यापी अपील भएका एशियाली कथाहरू यसका उदाहरण हुन्", जोशी भन्छन्, "पछिल्लो समय त्यस्ता प्रकारका सामग्रीको माग बढेको छ र अझै बढ्ने अपेक्षा गरिएको छ । इनसेसेन्ट रेन स्टुडियो र एकेडेमी यस प्रकारको उच्च गुणस्तरिय सामग्रीको विश्वव्यापी माग पूरा गर्नको लागि सँधै तयार छ ।"
इनसेसेन्ट रेनका जनशक्तिहरु उच्च प्रतिभाशाली रहेको बताउँदै जोशीले भने, "तिनीहरूले कार्यमा दक्षता मात्र प्रदान गर्दैनन्, हाम्रा कथाहरूको प्रामाणिकता जोगाउन पनि सक्षम रहेका छन् । उनिहरुले विश्वव्यापी दर्शकहरूको लागि हाम्रा कथाहरुलाई दृश्य माध्यममा अनुवाद गरिरहेका छन् ।