पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय पामे चलचित्र महोत्सवमा पार्थ सौरभ निर्देशित भारतीय फिल्म ‘पोखरके दुनु पार’ फिचर फिक्सन विधातर्फ उत्कृष्ट भएको छ । यो फिल्मले भागेर विवाह गरेको युवाजोडीले आफ्नो गाउँ फर्किएपछि साथीभाइ र समाजबाट महसुस गर्ने अनुभवको कथा भन्छ ।
फिचर डकुमेन्ट्रीतर्फ अनम अब्बास निर्देशित पाकिस्तान र क्यानडाको फिल्म ‘द स्टेन्ड डन’ उत्कृष्ट भएको छ । यो फिल्मले पाकिस्तानमा अधिकारका लागि महिला अधिकारवादीले गरेको मार्चको कथा भन्छ ।
सर्ट फिक्सनतर्फ शिवाङ्ग खन्ना निर्देशित ‘पिंकी और पापा’ उत्कृष्ट भएको छ । सर्ट डकुमेन्ट्रीतर्फ सहयोगराज अधिकारी निर्देशित नेपाली फिल्म ‘यात्रा’ले पुरस्कार जितेको छ । स्टुडेन्ट फिल्मको विधातर्फ मिन्सो लिम्बू निर्देशित फिल्म ‘जुन्को’ उत्कृष्ट भएको छ ।
फेस्टिभलमा ३२ देशका ५१ फिल्म प्रदर्शन गरिएको थियो । संस्कृति केन्द्रको आयोजना, चलचित्र विकास बोर्डको सहआयोजना र पोखरा फिल्म सोसाइटी, इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी र पूर्वाञ्चल रक्सको सहकार्यमा फेस्टिभल आयोजना भएको हो ।
फेस्टिभलमा किरणभक्त जोशीको ‘मण्डला’, सूर्य शाहीको ‘ह्वील्स वन द बस’ र कलनी गकोनको ‘सपनाको आवाज’ फिल्म ओपनिङ भएका थिए । फेस्टिभल समापन विद्या चापागाईं र कमल कुमारको डकुमेन्ट्री ‘बाघको बंगारा’बाट भएको थियो । यो फिल्मले हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा पब्लिक च्वाइस अवार्ड जितेको थियो ।
यसपटक महोत्सवको जुरीमा फ्रान्सकी कास्टिङ एजेन्ट कोलेट टोस्टीविन्ट, गौतम धिमाल, अनुप सुवेदी, जितेश प्रधान र विमला भण्डारी थिए । पामे फेस्टिभल काठमाडौंबाहिरको प्रतिष्ठित फिल्म महोत्सव हो ।