संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।
गजमेरका समकालीन पिटर जे कार्थकी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रिती लगायतले पुस्तक विमोचन गरे ।
कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । १९६३ देखि गजमेरसँगको संगत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्रीलाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए ।
‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए । ‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’
संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरुलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।
पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगा रुखमात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’
कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरु विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है, तिम्रो मनमा लुकेको कुरा, चिसोचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो क्ष् बाध्य वाधन तर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिङ, जे पि जोशी, भवन गन्धर्ब, संजीव मैनाली थिए । गायन तर्फ क्रमश: बिपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसैली र टिका प्रसाईं थिए ।
यस पुस्तकको विस्तृत विवरण यसै इमेलमा संलग्न प्रेस रिलिजमा रहेको छ । यसको जानकारी आम पाठकलाई यहाँको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।