आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बुलाकी’ कथावस्तुको हिसाबले पृथक छ । जारी प्रथा (अर्काकी श्रीमती लगे जारी तिर्नुपर्ने परम्परा) माथि यो फिल्म निर्माण भएको हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्त कर्णाली क्षेत्रको महिलाको भूमिकामा छिन् । निर्माण टिमले यसअघि सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा उनको भिन्न लुक्सले धेरैको ध्यान खिचेको थियो ।
प्रदर्शन मिति नजिकिँदै गएपछि निर्माण टिमले दुई दिन लगाएर यसै साता एक लोकलयको गीत छायांकन गरेको छ । ‘एक चिम्टी सिन्दूरले’ बोलको गीतमा फिल्मका प्रमुख कलाकार सुरक्षा पन्त र नरेन खड्काले नृत्य गरेका छन् । ललितपुरस्थित पर्यटकिय गन्तव्य लाकुरी भञ्ज्याङमा बुधवार र बिहीवार गीत सुटिङ गरिएको हो । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका छन् ।
लक्ष्मण सुनारद्वारा निर्देशित फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वर्गीय मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो । फिल्ममा सुरक्षा र नरेनका अलावा विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायतको पनि महत्त्वपूर्ण भूमिका छ ।
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको फिल्मलाई काठमाडौंभित्र बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।