आज शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु डेसान तथा सोल अफ द कमाण्डो प्रदर्शनमा आएका छन् । कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’ मा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर सहितका कलाकारहरुले अभिनय गरेका छन् ।
यो फिल्ममा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजिक महामारीको कथाको रुपमा ब्याख्या गरिएको फिल्ममा लगायतको अभिनय छ ।
केही समयअघि सार्वजनिक फिल्मको ट्रेलर तथा गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।
चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
आजैदेखि प्रदर्शनमा आउने फिल्म ‘सोल अफ द कमाण्डो’ मार्फत राजकुमार राईको २४ वर्षपछि अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिका निर्वाह गरेका थिए । अहिले पनि उनलाई मुख्य भूमिकामा नै देख्न सकिन्छ ।
मिलन राईको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको ‘सोल अफ द कमाण्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिकाराम ठकुरी, सोनीका राईको पनि मुख्य भूमिका रहेको छ ।
फिल्मको निर्देशन युवराज ९वीरबहादुर० राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको यो फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । फिल्मका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ ।
फिल्ममा छायांकन दिर्घ गुरुङको, सम्पादन नहकुल खड्काको, भिएफएक्स सत्यम राना, कलर जीवन थापा, ट्रेलर बन्दे प्रसाद, बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सिमोन राजबंशीको कोरियोग्राफी, द्वन्द निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ ।
प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् भने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
‘महापुरुष’ पछि कुनै पनि नेपाली फिल्मले सन्तोषजनक व्यवसाय गर्न नसकिरहेको अवस्थामा आजदेखि प्रदर्शन हुने यी फिल्मले दर्शकलाई सिनेमा हलसम्म तान्ने विश्वास गरिएको छ ।