प्रदीप शाहीद्वारा निर्देशित नेपाली फिल्म ‘अन्तिम संस्कार’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । लामो समयदेखि लण्डनमा बस्दै आएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गरेका छन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यतिबेला आफूलाई नेपाली फिल्म उद्योगमा स्थापित गर्न खोज्दैछन् ।
अहिले पनि धेरै नेपाली कलाकार एवं निर्देशकहरुको रोजाइमा लण्डन पर्दै आएको छ । तर, लामो समय लण्डनमै बिताएका शाही नेपाल आएर नेपाली फिल्म निर्देशनमा सक्रिय हुन खोजिरहेका छन् ।
उनी नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्य बोकेर आफूले काम गरिरहेको बताउँछन् । पहिलो चलचित्र ‘गोर्खाः विनिथ द ब्रेभरी’ लण्डनमा विशेष प्रदर्शन गरिएपनि दोस्रो फिल्म ‘अन्तिम संस्कार’ भने अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरुको पहिलो प्रयास रहने निर्देशक शाहीले बताए ।
‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लैजाने रहन्छ’ उनले भने– ‘त्यसपछि मात्रै यो फिल्म सिनेमा हलमा प्रदर्शन हुनेछ ।’ ‘अन्तिम संस्कार’को अर्थ मानिसको मृत्युपश्चात गरिने संस्कार हो । निर्देशक शाहीका अनुसार यो फिल्ममा ‘मर्डर मिसयूज’ को कथालाई समावेश गरिएको छ ।
सामाजिक एवं सांस्कृतिक कथावस्तुमा रहेका आईरहेका भन्दा विल्कुलै फरक शैलीको फिलम निर्माण गर्ने प्रयास गरिएको उनको दाबी छ । उनी आफू र आफ्नो टिमले निकै मेहनत गरेको बताउँदै फिल्म हेरेपछि दर्शकले ‘यो नेपाली र नेपाली टीमले बनाएको फिल्म हो र ?’ भनेर आश्चर्यमा पर्ने समेत दावी गर्छन् ।
‘नेपालमा धेरै ट्यालेन्ट फिल्म मेकरहरु हुनुहुन्छ । कथा राम्रो छ, पर्फेमेन्स राम्रो छ । लोकेशन नेपाली छ भने हामीले आफ्नै मौलिक कथा निकाल्न सक्दो रहेछौं भन्ने फिल हुन्छ जस्तो लाग्छ’ – उनी भन्छन् ।
नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन र चिनाउन निर्माता एवं निर्देशकहरु प्रयासरत हुनुपर्ने उनी बताउँछन् । आफू त्यही प्रयासमा लागिरहेको उनको भनाई छ । यतिबेला लण्डनमै पोष्ट प्रोडक्सनको काम भईरहेको ‘अन्तिम संस्कार’को लगानी झण्डै २ करोड पुग्ने अनुमान छ ।
विनोद सुवेदी खत्री (टाटेमित) को निर्माण रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।
निर्देशक शाही ‘अन्तिम संस्कार’पश्चात ‘गोर्खाः विनिथ द ब्रेभरी २’ निर्माणको तयारीमा लाग्नेछन् । यो फिल्म भने कर्मशियल हिसाबले निर्माण हुने उनको भनाई छ ।