मानवता प्रवद्र्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा आज शुक्रवार बिराटनगरबाट संगीत यात्रा नेपथ्य लाइभ कन्सर्ट प्रारम्भ हुँदैछ । यसअघि नेपथ्यले बिहिबार विराटनगर, पोखरा, काठमाडौंसहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको संगीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको जनाएको थियो ।
संगीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं उनीहरुको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवद्र्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर संगीत यात्रा आयोजना गरेको हो ।
यो संगीत यात्रा आज शुक्रवार मंसिर १६ गते विराटनगरबाट प्रारम्भ भई पुस १६ गते काठमाडौंमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।
शुक्रबार विराटनगरको हाटखोला मैदानबाट कार्यक्रम प्रारम्भ हुनेछ । महिनाव्यापी अभियानअन्तर्गत मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने छ ।
यसैगरी, पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।
मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन सहयोग पुग्ने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए । आश्रममा हाल एक हजार छ सय सडक आश्रित मानवहरु संरक्षित छन् ।