आगामी पुष १५ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘फकाउनै जानिनँ’ बोलको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासना छमछमी नाचिरहेका छन् । गीतमा उनीहरुको केमेस्ट्री निकै सुहाएको छ । एक्सन लभस्टोरी चलचित्रमा आर्यनको प्रेमीकाको रुपमा देखिदैछिन्, उपासना । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ वर्षकै प्रतिक्षित चलचित्रका रुपमा रहेको छ ।
भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।
रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।