अभिनेत्री अदिती बुढाथोकीले फिल्म ‘बाबरी’बाट करिब ४ वर्षपछि कमब्याक गरिन् । डेब्यू फिल्म ‘कृ’ रिलिजपछि मुम्बई केन्द्रित भएकी उनलाई आफ्नो कमब्याक फिल्मप्रति ठूलो आशा थियो । तर, फिल्मले प्रतिक्रिया सुखद् बटुले पनि व्यापार सुखद् गरेन । न त उनको अभिनयकै चर्चा भयो । फिल्ममा उनले अभिनयभन्दा आफू कसरी सुन्दर देखिने भन्नेमा बढी मिहिनेत गरेको देखिन्थ्यो ।
नेपालबाट लगानी सुरक्षित गर्न नसकेको ‘बाबरी’को यतिबेला विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको छ । फिल्मको विदेश प्रदर्शनका लागि अदिती र अभिनेता धिरज मगर अष्ट्रेलिया, हङकङ, बेलायत पुगेका थिए । बेलायत प्रदर्शनपछि धिरज यतिबेला बाली घुमघाममा व्यस्त छन् भने अदिती नेपाल फर्केकी छन् । उनी यसै साता आफ्नो कर्मथलो मुम्बई प्रस्थान गर्ने योजनामा छिन् ।
नेपाल ओर्लिएसँगै उनले इन्स्टाग्राममार्फत् फ्यानहरुको जिज्ञासाको जवाफ दिएकी छन् । एक फ्यानले धिरज मगरसँग अर्को फिल्म कुन हुनसक्छ भनेर सोधेको प्रश्नमा अदितीले ‘बाबरी २’ हुनसक्ने बताएकी छन् । यो माग दर्शकको नै रहेको पनि उनको भनाई छ । फिल्म प्रदर्शन भइरहेको समयमा पनि उनले ‘बाबरी २’ बन्न सक्ने संकेत गरेकी थिइन् । यो फिल्म उनकै होम प्रोडक्सनको हो ।
त्यस्तै, अर्का एक फ्यानले सिंगल कि रिलेसनसिपमा भनेर सोधेको प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘म सही व्यक्तिको प्रेममा डुब्न प्रतिक्षा गरिरहेको छु ।’ उनले आफू सिंगल रहेको दावी गरे पनि केही समयअघि उनी भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा चलेको थियो । ‘बाबरी’मा काम गरेपछि धिरजसँग अदितीको नाम जोडिएको छ । तर, दुवैले यो कुरा नकारेका छन् ।