निर्देशक प्रदीप भट्टराईले नेपाली दर्शकलाई दिएको एउटा अब्बल फिल्म हो, ‘जात्रा’ । पहिलो निर्देशन भए पनि उनले दर्शकको नाडी छामेर फिल्म बनाएका थिए । फिल्म सुपरहिट पनि भयो । यसको सिक्वेल ‘जात्रै जात्रा’ले पनि सफलता प्राप्त गर्यो । यतिबेला भट्टराई निर्देशित नयाँ फिल्म ‘महापुरुष’ले बक्सअफिस पिटेको छ । प्रदर्शनको दिनदेखि फिल्मको आक्रामक कमाई जारी छ ।
‘महापुरुष’ सुपरहिट भएसँगै निर्देशक भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनीहरुले ‘जात्रा’को तेस्रो सिक्वेल बनाउन लागेका हुन् । ‘महाजात्रा’ नामाकरण गरिएको फिल्मको यतिबेला आइडियामा काम भइरहेको निर्देशक भट्टराईले बताए । उनले ‘जात्रा’को अघिल्ला श्रृंखलासँग सम्बन्ध रहने गरी नै फिल्म निर्माण हुने जानकारी दिए ।
‘नाम नै क्यास गर्नका लागि त किन फिल्म बनाउनु र ! ‘जात्रा’को अघिल्ला श्रृंखलासँग जोडिएरै ‘महाजात्रा’ बन्नेछ,’ उनले भने, ‘अब झन् हामीलाई चुनौती थपिएको छ । रमाइलोका साथै गहकिलो फिल्म बनाउनुपर्ने चुनौती छ । त्यसैले स्क्रिप्ट चित्त नबुझेसम्म त ‘महाजात्रा’ बनाउँदैनौं ।’ उनले फिल्ममा ‘जात्रा’ सिरिजकै केही कलाकार र अन्य केही कलाकार पनि थपिन सक्ने जानकारी दिए ।
‘महाजात्रा’मा अभिनेता विपिन कार्की नछुट्ने निर्देशक भट्टराईको आशय छ । ‘विपिन कार्कीको नाम ‘जात्रा’सँग आँखा चिम्लिँदा पनि आउँछ । त्यसैले उहाँको विकल्प छैन,’ उनले भने । ‘जात्रा’को दुवै श्रृंखलामा विपिन मुख्य भूमिकामा थिए भने दोस्रो श्रृंखलामा दयाहाङ राई थपिएका थिए । त्यस्तै, अभिनेत्री वर्षा राउतले फिल्मको दुवै हिट श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।
‘महापुरुष’को सफलताले उत्साहित भट्टराई आफूलाई जानेर गल्ती गर्न छुट नभएको तर्क गर्छन् । ‘मैले अहिलेसम्म कुनै फिल्ममा जानेरै गल्ती गरेको छैन । तर, मान्छे भएपछि गल्ती र कमजोरी हुन्छ । हामीले राम्रो नियतका साथ काम गर्छौं । यद्यपि, हामीबाट कमजोरी हुँदैन भन्ने चाहिँ होइन,’ उनले अगाडि भने, ‘दर्शकबाट यत्रो माया पाउँदा पाउँदै जानी-बुझी गल्ती गर्नु अपराध नै हुन्छ ।’