आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै फिल्म प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा फिल्म प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच फिल्म प्रदर्शन गरिने घोषणा हुँदासमेत मङ्सिरदेखि माघसम्म प्रदर्शनको मिति खाली थिए तर अहिले विस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन्
मङ्सिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत फिल्म प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल फिल्म सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली फिल्मले गरिरहेको व्यापारले आश बढाएको बताए । उनी भन्छन् – “असोज र कात्तिकमै चार नेपाली फिल्मले घरेलु बजारबाट लगानी उठाएका छन् ।
दर्शकलाई चाहिने फिल्म ल्याउने हो भने लगातार फिल्म चल्छ,दर्शक आइरहदा उनीहरूको रुचिभन्दा बाहिरको फिल्म पर्र्यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।”
एउटै मितिमा धेरै फिल्म घोषणा हुँदा असर परिरहेको फिल्म विकास बोर्डका अध्यक्ष भुवन केसीले स्वीकारे । केसी भन्छन् “चलचित्रसँग सम्बन्धित सङ्घ तथा सस्थासँग परामर्श गरेर हामी दीगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन् ।”