सुर्य कर्पोरेसन लिमिटेडले ‘वर्ल्ड म्युजिकल टूर’ गर्ने भएको छ । अष्ट्रेलियाको सिड्नी , क्यानबेरा सहित विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना हुँदै सुरु हुने म्युजिकल टूर विश्वभर हुनेछ । नेपाली बसोबास गर्ने अधिकाँस देशहरूमा शो हुने आयोजन बाशुदेव लामिछानेले जानकारी दिए । ‘विदेशमा रहेकालाई नेपाली कला, संस्कृतिसँगै मनोरंजन दिउँ भन्ने उदेश्यका साथ कार्यक्रम तयार गरिएको छ । हामी अष्ट्रेलियाबाट सुरु गरेर इन्डियासम्म पुग्नेछौँ’, आयोजक लामिछानेले भने ।
उनको अनुसार आउँदो वर्ष सन् २०२३ मा जनवरीमा जापान, फेब्रुअरीमा दुवई, मार्चमा मलेसिया, अप्रिलमा नेपाल, मेमा जापान, जुनमा कोरिया, जुलाईमा बेलायत, अगस्टमा युरोप, सेप्टेम्बरमा क्यानाडा, अक्टोबरमा नेपाल, नोभेम्बरमा संयुक्तराज अमेरिका र डिसेम्बरमा भारतमा इभेन्ट आयोजना हुनेछ । ‘हामी डेट र स्थान छिटै घोषणा गर्नेछौँ । अहिले अष्ट्रेलियाको कार्यक्रममा केन्द्रीत छौँ’ आयोजक लामिछानेले बताए ।
जापानको सहरहरुमा कन्सर्ट र अवार्ड गरिरहेको सुर्य कर्पोरेशनले अष्ट्रेलियामा डिसेम्बर २१ देखि ३१ तरिकसम्म गर्ने कार्यक्रमलाई ‘साकुरा नाईट’ को सिजन ५ भनिएको छ ।‘हामीले विगतबाट सिक्दै यसलाई झनै वृहतरुपमा अगाडी बढाउने तयारी थालेका छौँ । हामीले म्युजिकल टुरसँगै अवार्ड पनि गर्दैछौँ’ लामिछानेले बताए । उनले अवार्डमा सहभागी हुन् चाहने दर्शकलाई टुर गराउने समेत बताए ।
‘हामीले पनि अब नेपाली कलाकारसँगै अवार्डमा सहभागी हुन् विदेश जान चाहनेलाई लाने तयारी गरेका छौँ । नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ’ उनले भने । विशेषत भारतमा आयोजना हुने अवार्डहरुमा सहभागी हुन् स्टारसँगै दर्शक पनि जाने गरेकाछन् । यहिँ तरिका नेपाली अवार्डमा समेत अपनाइएको अध्यक्ष लामिछानेले बताए । ‘साकुरा नाइट’ मा प्रशान्त तामाङ, सन्दीप क्षेत्री, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारहरु रहने उनले बताए ।