बलिउड अभिनेता तथा निर्देशक अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा डेब्यु गर्दैछन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले आफ्नै बाबुको फिल्म 'पटना शुक्ला' बाट बलिउडमा डेब्यु गर्न लागेका हुन् ।
यस खबरलाई अरबाज खानले पुष्टी गरेका छन् ।उनी सोनी एलआइभी वेब सिरिज 'तनाव' मा देखिदैछन्। उक्त सिरिजको प्रमोशनको क्रममा उनले आफ्नो छोरा बलिउडमा डेब्यु गर्न लागेको बताएका हुन् ।
अरबाजले छोरासँग काम गर्न उत्साहित रहेको बताउँदै भने, 'मेरो छोरा अरहान अहिले अमेरिकाकाे लङ आइल्याण्ड फिल्म स्कुलमा पढिरहेको छ। उसलाई आफ्नो स्वतन्त्रता मनपर्छ, उसले सिक्दैछ । म उसको लागि धेरै खुसी छु र गर्व गर्छु। म छोरासँग काम गर्न धेरै उत्साहित छु। फिल्म पढिरहेको हुँदा उनीबाट मैले व्यवहारिक कुरा सिक्ने अवसर पाउँछु भन्ने आशा छ ।'
यो फिल्मको छायांकन डिसेम्बर २०२२ देखि सुरु हुने बताइएको छ । अरबाज खानको 'पटना शुक्ला' मा रविना टन्डन, सतीश कौशिक, मानव विज, चन्दन रोय सन्याल, जतिन गोस्वामी, अनुष्का कौशिकलगायत कलाकारको अभिनय रहने छ । यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ ।
अरहानले यसअघि करण जोहरको फिल्म 'रकी ओर रानीको प्रेम कहानी' मा सहायक निर्देशकको रुपमा काम गरेका थिए। यो फिल्ममा सेफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानले पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए ।
उनी अरबाज र पूर्वपत्नी मलाइकाका एक मात्र सन्तान हुन् । उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। अरहानको जन्म ९ नोभेम्बर, २००२ मा भएको थियो ।