अर्पण थापा विवादमा आउने कलाकार होइनन् । ‘लो-प्रोफाइल’मा बसेर काम गर्छन् । मिडिया र इभेन्टबाट टाढा बस्न रुचाउँछन् । पछिल्लो समय कन्ट्रोभर्सी गरेर फिल्म चलाउने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
कन्ट्रोभर्सीभन्दा पनि ट्रेलर र यसको टिम हेरेर दर्शक फिल्म हेर्न जानुपर्ने उनको सुझाव छ । ‘फिल्म चलाउन फण्डा आवश्यक थिएन । आवश्यक हामी आफैंले बनाएको हो,’ अर्पण भन्छन्, ‘कुनै कारणले कन्ट्रोभर्सी भइदियो भने त्यो कन्टोभर्सीलाई अलिकति हाइलाइटमा आइदियो भने भोलिको दिनका अरुले पनि यसो गर्दा दर्शकले छिटो टिप्छन् भन्ने कुरा सिकें । जुन सही होइन ।’
कन्ट्रोभर्सी गरेर फिल्म चलाउने प्रवृत्ति गलत भएको भन्दै उनले दर्शकलाई सचेत भएर हलमा जान आग्रह गरे । ‘दर्शक ट्रेलर, निर्देशक र कथावस्तु बुझेर मात्र हलमा जानुपर्ने हो,’ उनले भने ।
अहिले हलमा चलिरहेको अर्पण अभिनित ‘लाखे’ बक्स अफिसमा निकै कमजोर देखिएको छ । अर्का अभिनेता रोहित रुम्बाले त निर्माताबीचको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भएको टिप्पणी गरिसकेका छन् ।
लाखे बक्स अफिसमा कमजोर भइरहँदा अर्पणको अभिव्यक्तिको सन्देश अर्थपूर्ण देखिन्छ ।